विदेशमा कार्यरत नेपालीमध्य १ हजार ६७ नेपालीको मृत्यु, ६ सय १२ जना अंगभंग।

काठमाडौं := वैदेशिक रोजगारीको सिलसिलामा रेमिट्यान्स आर्जन गर्न परदेशी भूमिमा कार्यरत मध्यका  करिब १ हजार ६७ नेपाली कामदारले १ वर्षको अवधिमा ज्यान गुमाएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले वैदेशिक रोजगारका क्रममा यो वर्ष १ हजार ६७ जनाको मृत्यु भएको र ६ सय १२ जना अंगभंग भएको तथ्य सार्वजनिक गरेको छ ।

पर्याप्त तालिम, सीप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो संख्यामा नेपाली कामदारहरू अकालमा मृत्युवरण गर्न पुगेका छन् । तथ्यांकअनुसार दैनिक तीनवटा बाकसहरू विदेशबाट त्रिभुवन विमानस्थलमा आइपुग्र्नेगरेका छन् । वैदेशिक रोजगारीमा जानेहरूको मृत्यु विभिन्न कारणले हुने गरेको छ ।

अधिकांशको मृत्युको कारण कार्यस्थलको दुर्घटना हो भने केहीको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । केहीको हत्या भएको छ भने केहीले आत्महत्या गरेको पाइएको छ। धेरै नेपालीको हृदयाघातका कारणले निधन हुने गरेको छ।

केहीको प्राकृतिक मृत्यु भएको छ । श्रम स्वीकृति लिई गएका श्रमिकका लागि वैदेशिक रोजगार बोर्डले विभिन्न कल्याणकारी कार्यहरू गर्नुपर्ने व्यवस्था छ। यस वर्ष कार्यसञ्चालन खाताबाट विभिन्न कार्यक्रम सञ्चालन गरी १ अर्ब १४ करोड ३७ लाख ८ हजार रुपैयाँ खर्च गरेको मलेपको प्रतिवेदनमा उल्लेख गरिएको छ ।