काठमाडौं := वैदेशिक रोजगारीमा गएका श्रमिकले जम्मा गरेको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम चरम दुरुपयोग भएको पाइएको छ ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ मा वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने, अलपत्र परेका कामदारलाई स्वदेश फिर्ता गराउने, क्षतिपूर्ति दिने, कामदारको परिवारलाई आर्थिक सहायता प्रदान गर्र्ने, वैदेशिक रोजगारका क्रममा मृत्यु भएका कामदारको शव नेपाल ल्याउने लगायतका वैदेशिक रोजगारमा गएका कामदारको हकहितका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरिने उल्लेख छ ।
तर, महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनअनुसार सो कोषको रकमबाट संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा रहेको नेपाली दूतावासलाई वैदेशिक रोजगार मेला व्यवस्थापन र वैदेशिक रोजगार व्यवसायी तथा संघसंगठनका प्रतिनिधिहरूको भ्रमण खर्चसमेतका लागि ३३ लाख १६ हजार, रोजगार मेलामा सहभागी पदाधिकारी, कर्मचारीको भ्रमण खर्चमा १८ लाख २७ हजार खर्च भएको छ ।
यस्तै, दूतावासका कर्मचारीलाई दुई थान विद्युतीय कार खरिद गर्न ७९ लाख ४० हजार, तीन दूतावासका सवारीसाधन मर्मतमा २३ लाख ९८ हजार खर्च भएका े महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।
यसैगरी, नियोगमा कर्मचारी नियुक्त गरी २ करोड ५७ लाख २८ हजार खर्च गरिएको छ । कोषको उद्देश्यअनुरूप वैदेशिक रोजगारमा जाने कामदारको हितमा मात्र कोषको उपयोग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।




















