फ्रान्स := अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागी हुनुभएको छ । नेपाली समयानुसार सोमबार बिहान आयोजित फ्रान्सेली फिल्म ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’ (रिचेस्ट वुमन इन द वर्ल्ड) को प्रिमियरमा उहाँहरू सहभागी हुनुभएको हो ।
कान्सको ग्राण्ड थिएटर लुमियरमा थिएरी क्लिफा निर्देशित पिल्मको प्रिमियर भएको थियो । रेडकार्पेटमा प्रदीप कालो सुट, कालो चश्मा र लामो कपालमा देखिनुभएको थियो । निर्देशक शाही कालो पाइन्ट र रातो कोटमा प्रस्तुत हुनुभएको थियो । उहाँहरूसँगै टिमका केही सदस्य पनि रेडकार्पेटमा देखिए ।

प्रदीप अभिनित र शाही निर्देशित चलचित्र ‘एक्लो’ अहिले कान्स मार्केटमा सहभागी छ । निर्देशक शाही चाहिँ कान्स प्रोड्युसर्स नेटवर्कमा सहभागी हुनुहुन्छ । यी दुईजना ‘एक्लो’ प्रवद्र्धनको लागि कान्समा पुग्नुभएको हो ।
यसबाहेक, थिएरी क्लिफा निर्देशित फ्रान्सेली भाषाको चलचित्र ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’ को रेडकार्पेट र स्क्रिनिङमा पनि प्रदिप सहभागी हुनेछन् । प्रदीपले त्यहाँ नेपालका छायांकन थलोको प्रवर्द्धन समेत गर्नेछन् । यसका लागि उनले चलचित्र विकास बोर्डले तयार पारेका ब्रोसर त्यहाँ सहभागीलाई वितरण गर्नेछन् । यतिबेला फ्रान्समा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल जारी छ ।




















