पिएसजीले फ्रेन्च लिग वानमा एजे औक्सेरविरुद्ध पुनरागमन जित दर्ता गर्यो।

एजेन्सी (पेरिस):= च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा एजे औक्सेरविरुद्ध पुनरागमन जित दर्ता गरेको छ । सिजनको अन्तिम खेलमा पिएसजीले एजेविरुद्ध ३-१ को जित हात पारेको हो । पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन ख्विचा क्वारत्स्खेलियाले दुई तथा मार्किन्होसले एक गोल गर्नुभयो । औक्सेरका लागि लासिन सिनेयोकोले गोल गर्नुभयो ।

खेलको ३०औँ मिनेटमा सिनेयोकोको गोलमार्फत् औक्सेरले अग्रता लिएको थियो । ५९औँ मिनेटमा क्वारत्स्खेलियाले पिएसजीलाई बराबरीमा ल्याउनुभएको थियो । मार्किन्होसले ६९औँ मिनेटमा गोल गर्दै पिएसजीलाई २-१ ले अगाडि बढाउनुभयो । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा क्वारत्स्खेलियाले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ३-१ को पुनरागमन जित दिलाउनुभएको हो ।

जितसँगै पिएसजीले ३४ खेलमा ८४ अंक जोड्यो । यो दोस्रो स्थानको मार्सेको भन्दा १९ अंक बढी हो । पराजित औक्सेरले समान खेलबाट ४२ अंकका साथ ११औँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ । फ्रान्सको ऐतिहासिक क्लब सेन्ट-एटिएन भने लिग २ मा झरेको छ । घरेलु मैदान स्टाड ज्योफ्रोय-गिशारमा भएको खेलमा सेन्ट-एटिएनले टुलुजसँग ३-२ को हार बेहोरेको हो । सन् १९६० र ७० को दशकमा फ्रेन्च फुटबलमा दबदबा जमाएको सेन्ट-एटिएन अब लिग २ मा फर्किएको हो । ऊसँगै अंक तालिकामा पुछारमा रहेको मोन्पेलिए पनि रेलिगेसनमा परेको छ ।

यसैबीच स्ट्रासबर्गविरुद्धको ३-२ को जितसँगै हाब्रे रेलिगेसनबाट जोगिएको छ । अब रिम्सले प्लेअफ खेल्नुपर्नेछ । उसले दोस्रो डिभिजनको मेट्जसँग दुई चरणको प्लेअफ खेल्नेछ । यता, पिएसजीले १३औँ पटक लिग १ को उपाधि जित्दै रेकर्ड बनाएको थियो । उसले ६ खेलअगावै उपाधि पक्का गरिसकेको थियो । अब पिएसजीको नजर इतिहासमै पहिलोपटक ट्रेबल जित्नेमा छ । उसले मे २४ मा फ्रेन्च कपको फाइनलमा रिम्ससँग खेल्नेछ भने मे ३१ मा च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग भिड्नेछ । एजेन्सी