काठमाडौं := अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नै निरन्तरता दिएको छ । बिहीबार एन्फा महासचिव किरण राईले उहाँलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो ।
यससँगै तामाङले थाइल्याण्डविरुद्वको मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटमा नेपाली टोली सम्हाल्नुहुनेछ। सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक सुरज कुमार लामा तथा टिम म्यानेजरको रूपमा वृन्दा देवकोटाले पनि आफ्नो जिम्मेवारी निरन्तरता पाएका छन्।
त्यस्तै, लक्ष्मी भट्टराई टिमको नयाँ फिजियोथेरेपिस्टको रूपमा नियुक्त भएकी छन्। चारै जनालाई एन्फा कम्प्लेक्समा महासचिव राईले नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। एन्फा महिला टोलीका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक ल्याउने तयारी छ । यसका लागि आवेदन पनि खुला भइसकेको छ ।