राजावादी शक्तिको चलखेल र षड्यन्त्रलाई जनताले परास्त गरेको प्रचण्डको दाबी।

काठमाडौं := नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी शक्तिको षड्यन्त्रलाई जनताले परास्त गरेको दाबी गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चाको वागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिहरुको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गर्नुभयो । उहाँले प्रतिगामी शक्तिहरुले पुनः चलखेल गर्नसक्ने भएकाले फेरि आन्दोलन गर्नुपर्ने आवश्यकता हुनसक्ने बताउनु भयो ।

उहाँले पार्टीमा आवद्ध विभिन्न जातीय तथा क्षेत्रीय संगठनहरुलाई शक्ति सञ्चय गर्न आग्रह गर्नुभयो । उहाँले यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरुलाई संसद, सडक तथा जनताको माँझमा गएर माओवादी केन्द्रले खबरदारी गरिरहेको बताउनु भयो ।  प्रतिगमणकारी शक्तिलाई परास्त गरी जनताको ठूलो त्यागबाट प्राप्त संघीय गणतन्त्रको रक्षा गर्ने जिम्मा आफूहरुकै भएको बताउनु भयो । माओवादी केन्द्रले सञ्चालन गरेको गतिविधिबाट जनतामा आशा र भरोषा जगाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पार्टीको अभियानहरु, सम्मलेलनहरु अधिवेशनतिर जाने प्रक्रियाहरु विभिन्न जातीय क्षेत्रिय मोर्चाका अधिवेशनहरु जनसंगठनहरु सबैमार्फत एउटा सवलरुपमा शक्ति सञ्चय गरेर शक्ति आर्जन गरेर जरुरी प¥यो भने ठूलो आन्दोलनमा देशलाई फेरि एकपटक लानुपर्ने जसरी यथास्थितिवादी र प्रतिगामीहरुले इतिहासलाई पछाडि फर्काउने हामीले प्राप्त गरेका उपलब्धीहरुलाई खोस्ने दुःशाहस गर्दैछन्, प्रपञ्च गर्दै छन्। त्यसलाई गतिलो जवाफ दिनुपर्ने आवश्यकता छ ।

अहिले हामीले सदनबाट खबरदारी गरेका छौँ,  जनताको बीचमा गएर खबरदारी गरेका छौँ, सडकबाट पनि हामीले खबरदारी गरेका छौँ । हामी अभियानमा हुँदै गर्दा काठमाडौंमा जसरी राजावादीहरुको वितण्डा देखापर्न खोज्यो त्यसलाई एउटा जवाफ दिनैपर्छ भनेर अभियान रोकेर काठमाडौं आएर हामी सबैको सहभागितामा हामीले ठूलै धक्का दियौँ । राजावादी वितण्डा र प्रतिगामी षड्यन्त्रका विरुद्ध जनताको ठूलो तागत र हाम्रो पार्टी र समाजवादी मोर्चाको तागतद्वारा त्यसलाई परास्त ग¥यौँ अहिलेलाई । यो फेरिपनि वितण्ड गर्लान् तर त्यसलाई परास्त गर्ने जिम्मा पनि हाम्रो नै छ । समग्रमा हाम्रो गतिशिलता धेरै नै बढेको छ । जनतामा हामीप्रतिको आशा पनि धेरै बढेको छ ।’

अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएपछि विभिन्न जनवर्गीय संगठनहरुसँग पार्टीको सम्बन्ध कमजोर हुँदा पार्टी कमजोर बन्न पुगेको बताउनु भयो । उहाँले माओवादी पार्टी कमजोर हुँदा संघीय गणतन्त्र धरापमा पर्नसक्ने कुरा पहिल्यै अनुमान गरेको जिकिर गर्नुभयो । उहाँले  पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा संघीय गणतन्त्रलाई बलियो बनाउन भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको दाबी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने र समाजवादी क्रान्तिको आधार तयार पार्ने बताउनु भयो । पार्टीलाई बलियो बनाउन आफू रातदिन विभिन्न अभियानमार्फत जनतासँग जुटेको उहाँको भनाइ छ । यसैगरी, अध्यक्ष दाहालले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशासनका पक्षमा नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।