आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसंगै आन्दोलन स्थगित।

काठमाडौं := नेपाल शिक्षक महासङ्घले जारी राजधानी केन्द्रित आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ। बुधबार आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै जारी शिक्षकहरुको आन्दोलन स्थगित गरिएको हो ।

महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि हड्ताल स्थगित गरिएको जनाएको हो।

महासङ्घका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०८१ माघ २० गतेदेखि सुरु भएको आन्दोलन र पछिल्लो चरणमा २०८१ चैत २० देखि काठमाडौं केन्द्रित सडक प्रदर्शन फिर्ता लिएको जनाइएको छ ।

त्यस्तै सत्तारुढ कांग्रेस एमालेको संसदीय दल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपरिषद्बाट केही मागहरु सम्बोधन भएको र विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धतासमेत प्राप्त भएकाले हड्ताल र प्रदर्शन स्थगित गरिएको महासंघले जनाएको छ ।

महासंघले शिक्षकहरुलाई विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सञ्चालनमा सहभागी हुन आग्रह गरेको छ । तोकिएको समयमा ऐन जारी नभए कडा सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि महासंघले दिएको छ । विगतमा भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै गत चैत २० गतेदेखि महासंघले सडक प्रदर्शन थालेको थियो ।