काठमाडौं := नेकपा एमालेका अध्यक्ष एवं अहिलेका नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला गर्नेहरू सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफका कारण पुर्पुरोमा हात हालेर थचक्कै ढलेको टिप्पणी गरेका छन् ।
शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले थाइल्यान्डबाट फर्किएर देउवाले विमानस्थलमै दिएको जवाफले विरोधीहरूलाई चिन्ता थपेको बताए ।
‘हिजोसम्म आगै बाल्न खोजेका थिए। शेरबहादुर देउवाजी आउनेबित्तिकै सरकार ढल्छ। एयरपोर्टबाटै पो ढल्छ कि जस्तो पारेका थिए। बांगिसकेको छ, ढलिहाल्छ भन्दै थिए।’ ओलीले भने, ‘शेरबहादुरजी आउनेबित्तिकै हिजै जवाफ दिनुभयो। खुई…अ गरेर पुर्पुरोमा हात लगाएर हल्लाखोरहरु थचक्क बसेका छन्। त्यति चाहिएको रहेछ। शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि थुचुक्कै हुँदा रहेछन्।’
आफूले सरकार ढल्छ कि रहन्छ भन्ने चिन्ता नरहेको भन्दै कार्यकर्तालाई चुनावको तयारी गर्न दिएको निर्देशनलाई पनि गलत बुझिएको ओलीको दाबी छ। ‘मैले अस्ति सरकार ढल्छ कि रहन्छ चिन्ता नगर्नूस्, चुनावमा लाग्नुस्। मिसन ८४ मा लाग्नुस् भनेको । प्रधानमन्त्रीले नै आश मारिसकेछन्। प्रधानमन्त्रीले भनेका कुराले तरंग ल्यायो भन्छन्। ’ओलीले थपे, ‘सरकार ढल्दैन भनेर कति भन्नु, नेपाली भाषा बुझ्दैनन् कि!’