रनरेटमा अगाडि भएका कारण अफगानिस्तान विश्वकपका लागि छनोट, नेपालको सपना अधुरै।

काठमाडौं := आइसिसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदान (तल्लो) मा शनिबार बिहान साढे ९ बजेदेखि सुरु हुनुपर्ने खेलमा टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले एक अंक बाँडेका छन् ।

यससँगै नेपाल र अफगानिस्तानको चार खेलबाट चार अंक रहृयो । तर, नेट रनरेटमा अगाडि भएका कारण अफगानिस्तान विश्वकपका लागि छनोट भएको छ । यसअघि दुवै टोलीले युएई, हङकङ र ओमानलाई पराजित गरेका थिए ।

नेपालले युएईलाई पाँच रन, ओमनलाई आठ विकेट र हङकङलाई नौ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान आठ विकेट र युएईलाई १८० रनले पराजित गरेको थियो । आफ्ना पछिल्ला तीनवटा खेलमा विजयी भएका दुवै टोली शनिबार आफ्नो अन्तिम खेल जितेर विश्वकपमा छनोट हुने आशामा थिए ।

तर, मौसमले साथ नदिएपछि रनरेटका आधारमा अफगानिस्तान छनोट भएको हो । योसँगै अफगानिस्तानले जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप २०२६ मा स्थान बनाएको छ । प्रतियोगिताको च्याम्पियन बनेको अफगानिस्तानलाई ट्रफी हस्तान्तरण गरिएको छ ।

नेपाल र अफगानिस्तान पहिलो तीन खेल जितेर निर्णायक मोडमा आइपुगेका थिए । नेट रनरेटमा अफगानिस्तानको ४.८१ र नेपालको ३.५७ रहेको थियो । नेपाल, ओमान, युएई अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउण्ड रोबिनका आधारमा भइरहेको छ र विजेता टोली आइसिसी यू-१९ विश्वकपमा पुग्ने प्रावधान थियो ।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको आइसिसी यू-१९ विश्वकपमा अफगानिस्तानलाई एक विकेटले पराजित गरेको थियो । त्यसपछि नोभेम्बरमा युएईमा भएको एसिया कपमा पनि नेपालले अफगानिस्तानमाथि विजय हात पारेको थियो । यो प्रतियोगिताअघि नेपाल र अफगानिस्तान यू-१९ ले तीन खेलको शृंखला खेलेका थिए, जसमा अफगानिस्तान दुई-एकले विजयी भएको थियो ।

अहमदजाई ‘प्लेयर अफ द टुर्नामेन्ट’
आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्रको छनोट प्रतियोगिताको ‘प्लेर अफ द टुर्नामेन्ट’ अफगानिस्तानका खालिद अहमद हुनुभएको छ । उहाँले प्रतियोगिताभर सर्वाधिक २०२ रन बनाउनुभयो । खालिद अफगानिस्तानका दायाँहाते ब्याटर हुनुहुन्छ ।