रास्वपाले महाधिवेशनको नयाँ मिति तोक्यो, अब आगामी फागुन ७ देखि ९ गतेसम्म हुने।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको नयाँ मिति तोकेको छ । रास्वपाको बिहिवार बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन ७ देखि ९ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि रास्वपाले यही वैशाख २५-२७ गतेसम्म महाधिवेशन गर्ने तय गरेको थियो । रास्वपाको केन्द्रीय समितिको बैठकले आगामी फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले विसं २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा गठित पार्टीको ‘जन-यात्रा अभियान’ को कार्यविधि सर्वसम्मतले पारित गरेको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो । बैठकबाट प्रादेशिक कमिटीहरुलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरुलाई सक्रिय बनाउन प्रदेश इन्चार्ज तोकेको छ ।

जसअनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेसमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन कुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिमा हरि ढकाललाई इन्चार्ज तोकिएको छ ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीले बनाउँदै गरेको ‘ब्लु प्रिन्ट’ बारे खाका प्रस्तुत गर्नुभएको थियो । सोसम्बन्धी पूर्ण प्रतिवेदन आगामी असार ७ गते काठमाडौँमा हुने नीति सम्मेलनमा सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

साथै बैठकले विद्यालय शिक्षा विधेयक चाँडै ल्याउन र शिक्षकका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ । रास्वपाले संसद्को अधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय पनि गरेको छ ।

आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने निर्णय गरेको हो । यसका लागि संसद्को १२ गतेदेखि सुरु हुने अधिवेशनमा सशक्तरूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको हो । विद्यालय शिक्षा ऐन जारी गर्द माग गर्दै शिक्षकहरू १६ दिनदेखि आन्दोलनमा छन् ।