सिरहा:= प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्र भएको बताउनुभएको छ । सिरहा सदरमुकाममा नेकपा (एमाले) को ११औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पक्षधर कस्ता हुँदा रहेछन् भन्ने कुरा यही चैत १५ गतेको उनीहरुको क्रियाकलापले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपाली जनताले राजतन्त्रलाई नस्वीकार्ने बताउनुभयो ।
“राजतन्त्र फर्किन्छ भन्ने कुरा राति देखेको सपना पनि होइन, दिउँसै देखेको सपना हो । यो कुनै काम लाग्दैन । चैत १५ गतेको उनीहरुको क्रियाकलापले त्यो सपना भङ्ग भइसक्यो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजतन्त्रका पक्षधर कस्ता हुँदारहेछन् भन्ने नेपाली जनताले देखिसके। त्यस्ताको हातमा शासन गयो भने देशमा के हुन्छ होला ? तर, जानेवाला छैन । म आम नेपाली जनतालाई ढुक्क रहन आग्रह गर्दछु ।”
व्यक्तिको घरघरमा गएर आगो लगाउने, औषधि निर्माण कम्पनीमा आगो लगाउने, सञ्चारगृहमा आगो लगाउने, भित्र मान्छे थुनेर आगो लगाएर मार्ने, लुटपाट मञ्चाउनेजस्ता विध्वंसकारी तथा अराजक तत्वलाई कुनै हालतमा स्वीकार गर्न नसकिने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।
सरकारको ध्यान सुशासन, विकास र समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा साकार पार्न आफू लागिपरेको बताउनुभयो । त्यकका लागि सामाजिक न्याय, समानता, समावेशीता र समानुपातिक प्रणालीलाई अझ प्रभावकारी बनाई लोकतन्त्रलाई मजबुत बनाई छाड्ने उहाँले सङ्कल्प गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, पार्टीका मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । यसअघि प्रधानमन्त्री ओलीले आजै जनकपुरमा मधेस प्रदेशसभालाई सम्बोधन गर्नुभएको थियो ।
साथै प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा धनुषा र सिरहा जोड्ने हुलाकी सडकको कमला पुल समयमै निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्न सरकारले विशेष ध्यान दिएको बताए।
रासस




















