काठमाडौं := काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिनुभएको छ।राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा खबरदारी सभा गरेको थियो। उक्त सभा सकिएपछि राप्रपाका स्वयमसेवक तथा नेता कार्यकर्ताहरूले कार्यक्रम स्थलमा रहेको फोहोर सफा गरेका थिए।
सोही सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकालाई कार्यक्रम क्षेत्रको फोहोर राप्रपा आफैले सफा गर्ने भन्दै पत्र नकाट्न आग्रह गर्नुभएको थियो । त्यसको जवाफ दिँदै मेयर बालेनले महानगर कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर नबसेको बताउनु भएको छ ।
साथै राप्रपाको कार्यक्रम चलिरहँदा पनि उद्घोषकले पानीका बोतल तथा फोहोरहरू व्यवस्थित गर्न आग्रह गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै उद्घोषकले भनेका थिए, ‘एकजना पत्र काट्न तयार भएर बसेको छ । त्यो पत्र आउँछ । पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ ।’
सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ– ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’




















