नेपाली जनसम्पर्क समितिले मलेसियामा पीडित नेपालीलाई अनलिमिटेड हवाई टिकट सहयोग गर्ने।

[ घनश्याम चौधरी “आरएन” ] 

क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टी निकट प्रवास संगठन “नेपाली जनसम्पर्क समिति” मलेसियाले मलेसियास्थित नेपाली राजदूतावासलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

शुक्रबार नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीको नेतृत्वमा दूतावासको बैठककक्षमा उपस्थित भएका समितिका पदाधिकारी टोलीले मलेसियामै कार्यरत पत्रकारहरुको उपस्थितिमा  मलेसियाका लागि नेपाली राजदूत महामहिम डा. नेत्रप्रसाद तिम्सिना , प्रथम सचिव एवं प्रशासन शाखा प्रमुख बलीरामप्रसाद धामीसमक्ष १२ वटा बुँदा समेटिएको ध्यानाकर्षण पत्र बुझाएका हुन ।

ध्यानाकर्षण पत्र बुझाउनेसंगै केहि समय दूतावास र समितिका पदाधिकारीबीच नेपाली श्रमिकहरुले मलेसियामा भोगिरहेका मुख्य-मुख्य समस्याहरुको बिषयमा केन्द्रित छलफल समेत भएको थियो। छलफलको क्रममा महामहिम राजदूत डा.तिम्सिनाले “मेरो राजदूत पद जाओस्, तर म नेपाली श्रमिकहरूको हकहितका लागि डटेर काम गर्छु कसैको दबाबमा गलत सम्झौता गर्दिन” भन्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।

मलेसियाका लागि नेपाली राजदूत डा.नेत्रप्रसाद तिम्सिना 

राजदूत डा.तिम्सिनाले म नेपाली श्रमिकको निम्ति काम गर्न आएको हुँ, म यहाँ कुनै पनि म्यानपावर ब्यावसायी , बिचौलियाहरुको प्रभावमा नपरि निष्पक्ष नेपाली श्रमिकको हकहितमा काम गर्दै अगाडि बढ्ने भन्दै मलेसिया रोजगारी बिगतदेखिनै बिचौलियाको चंगुलमा फसेको बताउँदै तुरुन्तै मलेसिया रोजगारीलाई सुधार्न गार्हो हुने भएकोले दूतावास निरंतर रुपमा क्रमशः सुधार गर्दै अगाडी बढिरहेको बताउनुभयो ।

त्यसैगरी नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले वास्तविक समस्यामा परेका पीडित नेपाली श्रमिकहरूलाई नेपाल फर्काउन राजदूतावासले सम्पूर्ण प्रक्रिया पूरा गरी टिकट उपलब्ध गराउन नसकेको खण्डमा राजदूतावासले नेपाली जनसम्पर्क समिति मलेसियालाई अफिसियल पत्रचार गरेमा समितिको तर्फबाट असीमित हवाई टिकट “Unlimited airflight Ticket” उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाली जनसम्पर्क समिति मलेसिया सभापति चोलाकान्त पंगन ी।

उपस्थित पदाधिकारी र पत्रकार हरुले नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र कल्याणका लागि दूतावासले सकेको निरन्तर पहल र सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

त्यस्तै दूतावासले पछिल्लो समय नेपाली श्रमिकको सहयोगको लागि र श्रमिकको समस्या समाधानको लागि बनाइरहेको दीर्घकालीन योजना र तयारीबारे प्रथम सचिव धामीले उपस्थित सबैसमक्ष प्रष्ट पार्नुभएको थियो। साथै उहाँले दूतावास कार्यालय र कर्मचारीमा सुधार गर्नुपर्ने कुराहरू मा पनि क्रमशः सुधारसंगै कार्वानयन गर्नमा लागिपरेको बताउनुभयो ।

नेपाली जनसम्पर्क समिति मलेसियाले दूतावासलाई बुझाएको ध्यानाकर्षणपत्र तल हेर्नुस् : 

१. नेपाली दुताबास र मलेशियामा रहेका सबै नेपाली संघ संगठनहरु बीच समय समयमा अन्तरक्रिया, छलफल र संवादको वातावरण निर्माण गरियोस् ।

२. मलेशियामा कार्यरत श्रमिकहरुले काम गर्दा के कस्ता प्रकारका विमाहरु पाउने गर्छन्? Socso, Insurance र २४ घण्टे Insurance का विषयमा आम श्रमिकले बुझ्‌ने भाषामा स्पष्ट जानकारी उपलब्ध गराइयोस् ।

३. नेपाली श्रमिकहरूको लागि नेपाली दूतावासमा एक अलग ‘श्रमिक डेस्क’ राखियोस्, जसले गदां उनीहरूले सजिलो र सहज तरिकाले आफ्ना समस्याहरू प्रस्तुत गर्न सकून् ।

४. पासपोर्ट नभएका नेपालीहरूलाई नेपाली दूतावासबाट जारी गरिने एक पृष्ठको ‘ट्रामल डकुमेन्ट’ निःशुल्क उपलब्ध गराइयोस् ।

५. वैदेशिक रोजगारीको लागि नेपालीहरुको प्रमुख गन्तव्य मलेशिया हो। यहां ठूलो संख्यामा नेपालीहरु कार्यरत रहेका छन् । रोजगारीको सिलसिलामा कतिपयले आश्रय गृह (shelter house) को अभावमा ठूलो समस्या झेल्नु परेको छ। आपत र विपत्तमा परेका ती श्रमिकहरुलाई रोजगारी गरिरहेको स्थान नजिक वा धेरै व्यक्तिलाई सहज हुने स्थानमा आश्रय गृह (shelter house) बनाउन आवश्यक र अपरिहार्य छ। यस विषयमा नेपाली जनसम्पर्क समितिले बेलाबेलामा दुताबासको ध्यानाकर्षण गराएको पनि छ । त्यसैले, मलेशियाको कानून बमोजिम दुतावासको मातहत र अनुगमनमा संचालन हुने गरी आधय गृह (shelter house) खोल्ने व्यवस्था गरियोस् ।

६. नेपाली जनसम्पर्क समितिले २०१६/१२/०९ देखि मलेशियामा समस्यामा परेका नेपाली श्रमिकहरूलाई फ्री टिकेट उपलब्ध गराउँदै आएको छ। यस समितिको अलवा अन्य संघ सस्थाहरुले पनि सहयोग गर्दै आएका छन् । यस सन्दर्भमा नेपाल सरकारको तर्फबाट यो विषयमा नेपाली दूतावासलाई बजेट विनियोजन गरिएको छ भन्ने सुन्नमा आएकोले कुन-कुन शीर्षकमा कति बजेट छुट्याइएको छ, नेपाली श्रमिकहरुले यो सुविधा उपभोग गर्न के कस्ता प्रकृया अपनाउनु पर्छ। स्पष्ट जानकारीका लागि अनुरोध गर्दछौं ।

७. मलेशिया जेलमा रहेका नेपाली श्रमिकहरूको जानकारी मलेशिया सरकारले नेपाली दूतावासलाई अवश्य पनि गराएकै हुन्छ । दूतावासलाई प्राप्त यस्ता सूचनाहरु तुरुन्त तिनीहरूको परिवारलाई जानकारी गराइने व्यवस्था गरियोस् । उनीहरुलाई जेलमुक्त गर्न दूतावासले मलेशियन सरकारसँग तत्काल कुटनीतिक पहल गरोस् भन्ने हाम्रो आग्रह रहेको छ ।

८. मलेशियामा वेवारिसे अवस्थामा रहेका पहिचान खुलेका नेपाली नागरिकका आफन्त खोजी गरी अविलम्व उद्धार गरियोस् ।

९. दूतावासमा कर्मचारीहरू ढोका बन्द गरेर बस्ने र बाहिर अन्य सेवाग्राहीलाई लामो समयसम्म पर्खाइमा राख्ने गुनासाहरु बढ्दै गएको देखिएको छ । यसलाई मध्येनजर गरी आवश्यक सुधार गर्न, भविष्यमा यस्ता गुनासाहरु नआउने वातावरण सिर्जना गर्न र सेवाग्राहीलाई सहज र सरल ढंगले सेवा प्रदान गर्न दूतावासले तत्काल आवश्यक कदम चाल्नका लागि अनुरोध गर्दछौं ।

१०. सेवाग्राहीको सहजीकरणका लागि दूतावासका कर्मचारीहरूको आफ्नो कार्य क्षेत्र र जिम्मेवारी प्रकट गर्ने नेमप्लेट राखियोस् ।

११. मलेशियामा रहेको नेपाली दूतावासको आफ्नै जग्गामा भवन निर्माणको कार्य शुरु गरियोस् ।

१२. हाल विभिन्न सामाजिक सञ्जालमा देखिएका समाचारहरु हेर्दा र सुन्दा मलेशिया रोजगारीलाई syndicate लगाउने भन्ने खबरहरु आइरहेका छन् । यसको वास्तविकता के हो ? दूतावासले यसलाई कसरी हेरिरहेको छ र यो विषयमा दुतावास किन मौन छ ? स्पष्ट जानकारी उपलब्ध गराइयोस् ।