काठमाडौं := नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताउनुभएको छ। बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका धेरै नेपालीहरुले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गर्नुभयो ।
उहाँले सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको भन्दै कसैले रहर नगर्न आग्रह गर्नुभयो । उहाँले गणतन्त्र नेपाली जनताले मानिसकेको भन्दै पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आस नगर्न आग्रह गर्नुभयो ।
उहाँले देशमा प्राप्त समावेशी, समानुपातिक प्रतिनिधित्व भएको र हिमाल, पहाड, तराईका सबै अटाउने गणतन्त्रात्मक संविधान बनेको उल्लेख गर्दै अब देशमा कुनै किसिमको डर नरहेको बताउनु भयो । कुनै हालतमा पनि प्रजातन्त्र हट्न नसक्ने दाबी गर्दै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रलाई स्थायी गराउने काममा लाग्न आग्रह गर्नुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका सबै साथी भाइहरु लडेर हामीले नेपालमा अहिलेको व्यवस्था ल्याएका छौँ । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौँ । कसैले रहर गरेर हुनेकुरा छैन ।
यो सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको हो । यो हट्नेवाला छैन, हट्नेकुरा पनि छैन । नेपाली जनताले मानिसकेको हुनाले कसैले आशा नगरे हुन्छ । मैले भनिसकेको छु, धेरै कुरा भन्नेकुरा छैन । हाम्रो देशमा प्राप्त समावेशी, समानुपातिक प्रतिनिधित्व भएको संविधान छ।
हिमाल, पहाड, तराईका सबै अटाउने गणतन्त्रात्मक संविधान बनेको छ । हाम्रो देशमा कुनै किसिमको डर, त्रास छैन । राजाले कु गर्छन् भने जस्तो हाम्रो राष्ट्रपतिले कु गर्न सक्दैन । कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन । यो आएको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ ।’ सभापति देउवाले नेपालको संविधानमा सबैको प्रतिनिधित्व रहेको बताउनु भयो ।



















