काठमाडौं := एनसेल नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनको खेलतालिका सार्वजनिक गरिएको छ । सार्वजनिक तालिकाअनुसार एनएसएलको पहिलो खेल सिजन एकको विजेता काठमाडौं रेजर्स एफसी र सिजन दुईको विजेता ललितपुर सिटी एफसीबीच हुनेछ ।
प्रतियोगिताको फाइनल खेल भने आगामी वैशाखमा हुनेछ । यही चैत १६ गतेबाट सुरु हुने सिजन एक महिनासम्म चल्नेछ । दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते हुने बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन् ।

चैत १८ गते एफसी चितवनले पोखरा थन्डर्ससँग खेल्दै लिगको सुरुवात गर्नेछ । चैत १९ गते धनगढी एफसीले पहिलो खेल बुटवल लुम्बिनीसँग खेल्ने तालिका छ। लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि चार टिम प्ले अफमा प्रवेश गर्नेछन् । प्ले अफमा फाइनलसहित चार खेल हुनेछन् । यसरी यो पटक एनएसएलमा २५ खेल सञ्चालन हुनेछन् ।
एनएसएलको यसअघि अक्सन भइसकेको छ । ‘सी’ क्याटगरीका लागि ड्राफ्ट पनि गत साता सकिएको छ । विदेशी खेलाडीको हकमा अधिकांश टोली खेलाडी अनुबन्ध गरिसकेको छ । यो पटक लिगको प्रमुख प्रायोजक एनसेल रहेको छ । आयोजकले यो पटकको पुरस्कार रकम भने सार्वजनिक गरेको छैन ।




















