क्वालालम्पुर (मलेसिया):= मलेसियामा काम गर्न आएर आत्महत्या गरेका २४ वर्षिय नेपाली श्रमिक स्वर्गीय अजय कुमार महतोको मृत शव नेपाल फिर्ता पठाइएको छ । मृतक महतोको शव नेपालमा परिवारले बुझिसकेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्दै आएका महोत्तरी जिल्लाको भंगहा नगरपालिका-४ बिरता निवासी स्वर्गीय महतोको शव अन्तिम दाह संस्कारको लागि आज मार्च १५ तारिख २०२५ का दिन मलेसियन एयरलाइन्समार्फत नेपाल पठाइएको हेल्प मधेसी मलेसियाका उपाध्यक्ष सुरेन्द्र महतोले जानकारी दिनुभयो ।
स्वर्गीय महतोले यहीँ मार्च गएको ४ तारिख मंगलबारको दिन रोजगारदाता कम्पनीको होस्टेलनजिकै रहेको अग्लो पर्खालमा निस्केको फलामको डन्डिमा आफैंले डोरी बाधेर झुन्डिएर आत्महत्या गरेका थिए । आत्महत्या पश्चात मृतक महतोको परिवारले शव नेपाल फिर्ता पठाउन पहल गरिदिन हेल्प मधेसी मलेसियालाई सहयोगको याचना गरेका थिए ।
हेल्प मधेशी मलेसियाले पनि तुरुन्तै नेपाली राजदूतावास र रोजगारदाता कम्पनीको सहयोग समन्वयमा निज मृतक महतोको शव नेपाल पठाउन सफल भएका थिए ।मृतक महतोले आत्महत्याको बाटो रोजे ता पनि कम्पनीले परिवारलाई सक्दो आर्थिक सहयोग समेत गरेको जानकारी प्राप्त भएकोछ ।
मलेसियामा बिगत देखिनै आत्महत्या गर्ने नेपाली हरुको संख्या उच्च रहेको दूतावासको तथ्यांकले देखाउछ । आत्महत्या गर्ने हरु अधिकांस मानसिक संतुलन ठिक नभएका र घरतिरको अनावश्यक तनाव लिने नेपालीहरु बढीरहेको पाइएको छ ।



















