मलेसियामा सडक दुर्घटनामा नेपालीको मृत्यु, आन्दोलनरत नेपाली मध्य १३ जना पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेराकस्थित बातु लापान जालान चाङ्गकात जोङस्थित सडकमा आन्दोलन गर्ने १३ जना नेपालीहरु मलेसियन प्रहरीद्वारा पक्राउ परेको छ ।

हिजो शुक्रबार राती बाटो काट्ने क्रममा आफ्नो नेपाली सहकर्मी कामदारको सडक दुर्घटनामा गाडीको ठक्करले मृत्युु भएपछि न्यायको माग गर्दै १ हजार भन्दा बढि नेपाली श्रमिक सडकमै ओर्लेर आमहडताल गरिरहेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भैरहेको छ ।

हिलिर पेराक ओसीपीडीका सहायक कमिश्नर डा. बकरी जैनल अबिदिनले शुक्रबार (मार्च १४) राति ९.३५ बजे उक्त घटना भएको बताए। “हामीले एक विदेशी कामदारलाई ठक्कर दिएर भागेको घातक दुर्घटनाको बारेमा रिपोर्ट प्राप्त गर्यौं। “लगभग १,००० विदेशी कामदारहरू सडकमा भेला भएर सडकमा ट्राफिक प्रवाह रोकेर आन्दोलन गरिरहेको फेला पारेका छौ,” उनले शनिबार (मार्च १४) मा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

“स्थिति शान्त पार्न र नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको थियो, जुन सबै विदेशीहरू, मुख्यतया कारखाना कम्पनीका कामदारहरू, आफ्नो होस्टेलमा फर्किएपछि स्थिति सामान्य अवस्थामा फर्कियो,” उनले थपे। एसीपी डा. बकरीले भने कि प्रहरीले दंगा भड्काउने प्रयास गर्ने १३ नेपाली नागरिकहरूलाई पनि पक्राउ गरेको छ ।

“पक्राउ परेकाहरु माथी मलेसियन कानुन दण्ड संहिताको धारा १४७ अन्तर्गत अनुसन्धान गरिनेछ। “हामी सडक यातायात ऐनको धारा ४१(१) अन्तर्गत पनि घातक सडक दुर्घटनामा मृत्यु भएका नेपालीको बारेमा पनि अनुसंधान गर्ने छौं,” उनले भने।

मृत्यु भएका नेपालीको पहिचान खुल्न भने बांकी रहेको छ । सडक दुर्घटनाको बारेमा थाहा भएकाहरूलाई अनुसन्धान अधिकारी इन्स्पेक्टर मोहम्मद स्यामिल अब्द मनानलाई ०११-१००६ ५८१७ मा सम्पर्क गर्न र जानकारी दिन आग्रह गरिएको छ ।

स्मरण रहोस् मलेसियन कानुनअनुसार यहाँ काम गर्न आएका विदेशी नागरिकहरुले कुनै पनि किसिमका आन्दोलन, सभाभेला गर्न सख्त मनाही छ । त्यस्ता कुनै कार्य गरेको पाइएमा वा संलग्न भएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने प्रावधान कानुनमा उल्लेख छ ।