काठमाडौं := युगाण्डामा जारी वुमन्स डे कप टी-२० आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । नेपालले घरेलु टोली युगाण्डालाई एक विकेटले हराएको हो । टस जितेर बलिङ रोजेको नेपालले युगाण्डालाई ७५ रनमा समेटेको थियो ।
नेपालको जितमा साना प्रविनले १७ र पूजा महतोले १६ रन जोड्नुभएको थियो । रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन्। सम्झनाकुमारी खड्काले आठ रन बनाउँदा कप्तान इन्दु बर्मा ६ रनमै रनआउट हुनुभएको थियो भने कविता जोशी पहिलो बलमै आउट हुँदा बिन्दु रावलले दुई रनमात्रै जोड्न सक्नुभएको थियो ।
रोमा थापा एक रन र रचनाकुमारी चौधरी शून्य रनमा आउट हुँदा रिया शर्मा चार तथा ईश्वरी विष्ट तीन रनमा अविजित रहनुभएको थियो । कुनै समय ३९-२ को अवस्थामा रहेको नेपालले त्यसपछि ५०-४, ५६-५, ६८-६, ६९-७, ६९-८ हुँदै ६९ रनमै नौ विकेट गुमाएको थियो ।
अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा रिया शर्मा र ईश्वरी विष्टले रन जोड्दै जित दिलाउनुभयो । युगाण्डाका लागि कप्तान जानेत बाबजीले चार ओभरमा १८ रन दिएर तीन विकेट लिनुभयो भने सारा वालाजाले दुई विकेट लिनुभएको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले नेपालसामु ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युगाण्डाले २० ओभरमा सात विकेट गुमाएर ७५ रन बनाएको हो । नेपालका लागि पूजा महतोले चार ओभरमा १४ रन दिएर तीन विकेट लिनुभएको थियो भने कप्तान इन्दु बर्माले चार ओभरमा आठ रन दिएर दुई विकेट लिनुभएको थियो ।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । अब नेपालले आज (सोमबार) हङकङ, फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगाण्डासँग र ३० गते हङकङसँग खेल्नेछ । लिग चरणका खेलमा शीर्ष दुई स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा भिड्नेछन्। यो सिरिजमा नेपालसहित युगाण्डा, नामिबिया र हङकङ सहभागी छन् ।