काठमाडौं := आगामी बडादशैँको फूलपातीमा सिनेमाघरमा आउने मिति गरेको चलचित्र ‘बलिदान’को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक गरिएको छ । यस पात्रमा नव अभिनेत्री कविता रायले अभिनय गर्नुभएको छ । पोष्टरमा ‘किरण’ पात्र एक हिंसात्मक र संघर्षपूर्ण अवस्थामा देखिन्छिन् ।
उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ । उनको एक आँखामात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ । समग्रमा पोष्टरले एक महिला पात्रको संघर्ष, हिंसा, प्रतिरोध र बलिदानको कथा भन्न खोजेको स्पष्ट छ ।
चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’मा राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक रूपमा तर नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको बताउनुभयो, जुन वर्गलाई उहाँले यस चलचित्रमा ‘भिल्ला’ वर्ग नाम दिनुभएको छ र त्यो समुदाय बस्ने स्थानलाई ‘भिल्लमगढ’ नामाकरण गरेका छन् ।
सो वर्ग नेपालको तराई क्षेत्रका समुदायसँग मिल्दोजुल्दो छ । सोही वर्गलाई प्रतिनिधित्व गर्ने महिला प्रमुख कलाकारको आवश्यकतालाई मध्यनजर गरी अडिशनमार्फत कविता रायलाई छनौट गरिएको थियो । प्रमुख भूमिकामा यो चलचित्र नै रायको पहिलो चलचित्र हो ।
‘राज्यको मूलधारबाट किनारिएका वर्ग ‘भिल्ला’ (चलचित्रको कथामा प्रयुक्त सांकेतिक नाम)को बसोबास रहेको ‘भिल्लमगढ’ (काल्पनिक नाम)मा महिलामाथि हुने सामाजिक उत्पीडन र तिनका कमजोरीको फाइदा उठाएर कुटिल नेताबाट ‘युज एण्ड थ्रो’ गरिने कथालाई आधार बनाएर निर्माण भइरहेको चलचित्र ‘बलिदान’का लागि हामीलाई यस्तै परिवेशबाट आएको प्रतिनिधि पात्र ‘किरण’को चरित्रलाई सशक्त रूपमा जीवन्त बनाउने अभिनेत्रीको आवश्यकता थियो’, निर्देशक सेनले भन्नुभयो, ‘यस भूमिकाका लागि उपयुक्त हाउभाउ, रुपरङ र प्रभावशाली अभिनय क्षमता भएका महिला कलाकार छनोट गर्न अडिशनको आहृवान गरिएको थियो ।
हाम्रो कल्पनाको ‘किरण’, जसको आवरण, आचरण, बोल्ने लवज र पात्रले देखाउनुपर्ने सशक्त अभिनय कविता रायमा भेटिएकाले हामीले उनलाई यस भूमिकाका लागि छनौट गरेका थियौं ।’ चलचित्रमा अभिनेता समीर भट्ट प्रमुख भूमिकामा हुनुहुन्छ ।
साथै अनुभवी कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारको अभिनय छ। चलचित्र ‘आसुसेन फिल्म्स् प्रालि.’को प्रस्तुति हो । यसका निर्माता पवन ब्राडफोर्ड विष्ट हुनुहुन्छ भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा रहनुभएको छ ।




















