राजावादीहरूको तरंगले प्रचण्ड पनि डराए, माओवादी केन्द्रको गाउँ डुल्ने अभियान स्थगित।

काठमाडौं:= पछिल्लो समय राजावादीहरूले आफ्नो गतिविधि बढाउँदै लगेका छन् । आज (आइतबार) राजावादीहरूले पोखराबाट काठमाडौं फर्किंदा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्ने तयारी गरेका छन् । यसपालि प्रजातन्त्र दिवसका दिन पूर्वराजा शाहले जारी गरेको भिडिओ सन्देशले राजसंस्था पुनःस्थापनाको मुद्दालाई बल पुर्‍याएको राजावादीहरूले बताउँदै आएका छन् ।  पूर्वराजा शाहले अहिलेको राजनीतिक दलहरूले देश बर्बाद बनाएको टुलुटुलु हेरेर बस्न नसक्ने अभिव्यक्ति दिनुभएको थियो ।

‘देश जोगाउने हो भने आफूलाई साथ दिन’ पूर्वराजाले खुलेर आहृवान गर्नुभएको थियो । उहाँको यस्तो अभिव्यक्तिपछि राजावादीहरूले आफूहरूका मुद्दालाई अगाडि बढाउने अहिले उपयुक्त समय आएको बताएका छन् र आफ्ना गतिविधि बढाउँदै लगेको छन् । राजावादीहरूका गतिविधिबाट सत्तापक्ष र प्रतिपक्ष दलहरू संशकित भएका छन् । पूर्वराजाले राजनीतिक सक्रियता देखाएको भन्दै प्रधानमन्त्रीसहित सत्तासिन र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताले राजनीति गर्ने भए दल खोलेर चुनावमा आउन चुनौती दिइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौती दिँदै आएका छन् । यसैबीच, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान स्थगित गरेको छ । झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेर स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राजावादीहरू सल्बलाएको भन्दै ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको बताइएको छ । ‘केपी ओलीले असाध्यै गलत कामहरू गर्नुभयो । सरकारमा भएकाहरूले भ्रष्टाचारलाई बढावा दिने लगायतका गलत कामहरू गर्दा राजावादीहरू अनावश्यक रूपमा सल्बलाउन थाले,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भन्नुभयो, ‘यसै विषयमा छलफल गर्न आइतबार पदाधिकारी बैठक बोलाइएको छ ।

बैठकका लागि जागरण अभियान अन्तर्गतका आइतबार र सोमबारका कार्यक्रमहरू अहिलेलाई स्थगित गरिएको हो । पूर्वराजा शाह जनआन्दोलनका दोषी भए पनि छुट दिइएको भन्दै उहाँले ज्ञानेन्द्रले सीमा नाघेर गतिविधि गर्न थालेपछिको अवस्थामा रणनीति तय गर्न पदाधिकारी बैठक बोलाइएको पनि बताउनुभयो ।

अभियानअन्तर्गत शनिबार माओवादीले रौतहटमा कार्यक्रम गरेको छ भने आइतबार (फागुन २५) बारामा, फागुन २६ गते पर्सामा, फागुन २७ गते चितवनमा कार्यक्रम गर्ने कार्यसूची तय गरेको थियो । यस्तै, नवलपुर (नवलपरासी पूर्व) मा चैत २, परासी (नवलपरासी पश्चिम)मा चैत ३, रुपन्देहीमा चैत ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत ६, बाँकेमा चैत ७ र बर्दियामा चैत ८ गते अभियान सञ्चालन हुने तय भएको थियो । यस्तै, कैलालीमा चैत ११ गते र कञ्चनपुरमा चैत १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो । अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट आदि रहेका छन् ।

राजा भोटको राजनीतिभन्दा धेरैमाथि : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था भएको बताउनुभएको छ । शनिबार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले राजाको अभिव्यक्तिलाई लिएर दलका नेताले टिप्पणी गरेको विषयमा यस्तो बताउनुभएको हो । अध्यक्ष लिङ्देनले अहिलेका नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको बताउनुभयो । राप्रपाले राजनीतिक दलको राजा नभई देशको राजा स्थापित गर्न खोजेको उहाँको भनाइ थियो ।

‘राजाले पहाडमा नभएर मधेसको जनताले रोजगारी पाओस् । मधेसको जनताले गरिखाने वातावरण निर्माण होस् भनेर खोलेको उद्योगधन्दाहरू बेचेर खाए । कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौँ भ्रष्टाचार काण्डहरूमा उनीहरूको नाम मुछिएको छ । त्यस्ता नेताहरू अहिले राजालाई लल्कार्दै छन् राजा चुनाव लड्न आऊ भनेर,’ उहाँले भन्नुभयो, ‘म भन्छु, तपाईंहरूसँग चुनाव हामी लड्छौँ ।

राजाले चुनाव लड्ने होइन । चुनाव लड्नको लागि हामी जस्ता मानिसहरू छौँ। हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरूसँग चुनाव लड्ने होइन । राजनीतिक दलको राजा होइन, देशको राजा खोजेको हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो ।’