गौशाला धर्मशाला सञ्चालनको जिम्मा पुनःमारवाडीलाई, महानगरसंगको सम्झौता खारेज।

काठमाडौं := गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच भएको सम्झौता खारेज भएको छ । उच्च अदालत पाटनले यस्तो आदेश दिएसँगै अब मारवाडी सेवा समितिले धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुलेको हो ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले बुधबार गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश दिएको उच्च अदालत पाटनका सूचना अधिकारीसमेत रहनुभएका शाखा अधिकृत पार्वती हितानले जानकारी दिनुभयो । मारवाडी सेवा समितिलाई अधिकार खोसेर कोषले गत असोजमा गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको थियो ।

उक्त सम्झौतापछि महानगरपालिका र कोषले गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउन खोजेपछि कोषको निर्णयविरुद्ध मारवाडी सेवा समिति उच्च अदालत पुगेको थियो । उच्च अदालत पाटनले गत कात्तिक २ मा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले महानगरपालिका र कोषबीच भएको सम्झौता खारेज गरेको हो । यससँगै पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिले चलाउने बाटो खुला भएको छ ।

पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच १२ जेठ २०६० मा पशुपति गौशाला धर्मशाला चलाउने सम्झौता भएको थियो । तर, कोषले १७ साउन २०८० मा समितिसँग गरेको सम्झौता खारेज गर्‍यो । कोषले एकतर्फी रूपमा सम्झौता खारेज गरेपछि मारवाडी सेवा समिति अदालत पुग्यो ।

जिल्ला अदालत काठमाडौंले १६ असोजमा सम्झौता खारेज गर्ने कोषको निर्णय सदर गर्‍यो । जिल्ला अदालत काठमाडौंको आदेशपछि कोषले महानगरलाई गौशाला धर्मशाला सञ्चालन गर्न दिने निर्णय र सम्झौता गर्‍यो । यही सम्झौताअनुसार २३ असोजमा महानगर धर्मशाला खाली गराउन जाँदा मारवाडी सेवा समिति र महानगर प्रहरीबीच धकेलाधकेल भएको थियो ।

१९९७ देखि धर्मशाला चलाउँदै समिति

मारवाडी सेवा समितिले १९९७ देखि पशुपति गौशाला धर्मशाला चलाउँदै आएको छ । समितिका अनुसार यो गौशाला धर्मशालाको स्थापना औद्योगिक घरना केडिया ग्रुपका समेत संस्थापक रहनुभएका रामकुमार मारवाडीले गर्नुभएको हो । २ माघ १९९० मा आएको महाभूकम्पले ८५ सयभन्दा बढीको ज्यान लियो । २० हजारभन्दा बढी संरचना भत्किए । राजधानी काठमाडौं अस्तव्यस्त भयो । मान्छेहरू खुला ठाउँ खोज्दै टुँडिखेलमा जम्मा भए ।

भूकम्पको त्रासले टुँडिखेलमा जम्मा भएकालाई काठमाडौंका मारवाडी समुदायले खाना खुवाए । मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद अग्रवालका अनुसार भूकम्पको विपद्मा मारवाडी समुदायले सहयोग गरेका थिए । उहाँका अनुसार मारवाडी समुदायले भूकम्पपीडितलाई लुगा, कपडा र कात्रो उपलब्ध गराए । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर मारवाडी समुदायको सेवा देखेर प्रभावित भएका थिए ।

भूकम्पको करिब नौ वर्षपछि वि.स १९९७ मा मारवाडी समुदायले काठमाडौंमा गौशाला बनाउन जमिन खोज्न थाले । जुद्ध शमशेरले यो कुरा थाहा पाएपछि हाल पशुपतिको पश्चिममा रहेको जमिन गौशाला धर्मशाला चलाउन भनेर उपलब्ध गराउनुभएको थियो । त्यसयता मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशाला चलाउँदै आएको थियो ।