राजसंस्थाको पक्षमा उत्साहित हुँदै नेपाली जनता सडकमा शक्ति प्रदर्शन गर्दै।

काठमाडौं := केही दिनदेखि राप्रपा लगायतका राजावादी शक्तिहरू सडक प्रदर्शनमा छन् । राजसंस्था फर्काउने उद्देश्यका साथ उनीहरूले ठाउँठाउँमा गरेको शक्ति प्रदर्शनले राष्ट्रव्यापी चर्चा पाएको छ । खासगरी पूर्वराजा ज्ञानेन्द्र शाहले देश बचाउनका लागि आफूलाई साथ दिन गरेको आग्रहप्रति उत्साहित हुँदै राजावादी शक्ति जुर्मुराउन थालेका हुन् ।

पूर्वराजा शाहले प्रजातन्त्र दिवसको अवसरमा गरेको सम्बोधनपछि यो आमसभाको महत्व र सान्दर्भिकता बढेको नेताहरूले बताएका छन् । राजाले खोजेको साथ दिन आफूहरू तयार रहेको उनीहरूको भनाइ छ । राजसंस्थाको पक्षमा देखिएको जनसमर्थनबाट गणतन्त्रवादी शक्ति पनि झस्किन थालेका छन् ।

सडकदेखि सामाजिक सञ्जालका भित्ताहरूमा राजनीतिक दलहरूप्रति जनताको तीव्र आक्रोश र पूर्वराजाप्रति केही सहानुभूति प्रकट भएको देख्न सकिन्छ । राजसंस्थाको पक्षमा माहोल बढ्दै गएको देखेर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले पनि राजसंस्थाको विरोधमा चर्का अभिव्यक्ति दिइरहेका छन् ।

राप्रपाले आयोजना गरेका पछिल्ला केही कार्यक्रमहरूमा भिड बढ्दै गएको यथार्थलाई नकार्न सकिने अवस्था छैन। पछिल्ला दिनहरूमा राप्रपा जागेको छ । राप्रपाले राजाको उक्त सम्बोधनपछि पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज हुँदै काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो । राप्रपाका सबै प्रदर्शनहरूमा जनताको बाक्लो उपस्थिति देखिनुले गणतन्त्रवादी शक्तिहरू चिन्तामा परेका छन् ।

कतै यसले ठूलो रूप लिएर देशमा राजसंस्था पुनःस्थापनाको माहोल बन्ने त होइन ? भन्ने त्रास उनीहरूमा फैलिएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त पूर्वराजालाई सरकारले नियन्त्रणमै लिनुपर्ने अभिव्यक्तिसमेत दिनुभएको छ । पूर्वराजा फेरि नारायणहिटीको सिंहासनमा फर्किन चाहेको कुरा उहाँको पटक-पटकको सम्बोधनबाट स्पष्ट भइसकेको छ ।

तर, उहाँको मार्गचित्र चाहिँ स्पष्ट भएको छैन । आफूलाई साथ दिन आहृवान गरे पनि कसरी साथ दिने भन्नेमा राजावादी शक्तिहरू अलमलमा छन् । यद्यपि, राप्रपाको नेतृत्वमा राजसंस्था समर्थक सबै शक्तिहरूलाई एकीकृत बनाएर सडकमा उतार्ने पहलहरू भने भइरहेका छन् । बुधबारको र्‍यालीमा दुर्गा प्रसाईँको उपस्थिति यसैको संकेत हो ।

राप्रपाले केही समयअगाडि नै सबै राजावादी शक्तिहरूलाई संगठित गर्ने हेतु वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नेतृत्वमा एउटा समिति बनाएको थियो । उक्त समितिले विभिन्न सातवटा संगठन र समूहहरूसँग वार्ता पनि गर्‍यो । तर, सहमतिमा पुग्न सकेन । मिश्रले फेरि उक्त संवादलाई निरन्तरता दिने कसरत गरिरहनु भएको छ ।

स्रोतका अनुसार केही दिनअघि उहाँले पूर्वराजासँग भेटघाट र छलफलसमेत गर्नुभएको थियो । राजावादी शक्तिहरू अब २५ फागुनमा हुने पूर्वराजाको ‘काठमाडौं फिर्ती सवारी’ लाई भव्य बनाउने तयारीमा जुटेका छन् । राप्रपाले त्यही दिन काठमाडौंमा आयोजना गर्न लागेको सभासमेत स्थगित गरेर पूर्वराजाको स्वागतमा होमिएको छ । त्यसदिन गणतन्त्रवादीलाई झस्काउने गरी शक्ति प्रदर्शन गर्ने तयारी राप्रपाले गरेको छ ।