भारत एकपटक फेरि आइसिसी च्याम्पियन्स ट्रफीको उपाधिनजिक।

नयाँदिल्ली:= भारत एकपटक फेरि आइसिसी च्याम्पियन्स ट्रफीको उपाधिनजिक पुगेको छ । दुर्ईपटकको विजेता अष्ट्रेलियालाई मंगलबार राती चार विकेटले हराउँदै भारत फाइनलमा पुगेको हो ।

अष्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । दुबईको सुस्त पिचमा विराट कोहलीले ८४ रन बनाएर भारतलाई च्याम्पियन्स ट्रफीको सेमिफाइनल जिताउन मद्दत गर्नुभयो ।

विराटले ठूलो खेलमा ठूलो इनिङ खेलेको यो पहिलोपटक भने होइन । यसअघि पनि उहाँले नकआउट खेलमा सात महत्वपूर्ण इनिङ खेल्दै टोलीलाई जित दिलाउनुभएको छ ।

योसँगै भारतले सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा अष्ट्रेलियासँगको हारको बदला पनि लिएको छ । भारतको जितसँगै च्याम्पियन्स ट्रफीको फाइनल पनि दुबईमा हुने पक्का भएको छ । भारतले दुबईमा हारबिना १० ओडिआई खेलेको छ ।

टोलीले नौ खेल जितेको छ भने एक खेल बराबरी भएको छ । भारतले पछिल्लोपटक सन् २०११ मा आइसिसी प्रतियोगिताको नकआउट खेलमा अष्ट्रेलियालाई हराएको थियो । त्यसयता खेलिएका तीनवटै खेलमा भारत पराजित भएको थियो ।

जितसँगै रोहित शर्मा र विराट कोहली दुवैको नाममा कीर्तिमान बनेको छ । रोहित सबै आइसिसी प्रतियोगिताको फाइनल पुग्ने पहिलो कप्तान बन्नुभएको छ । कोहलीले एकदिवसीयमा १६१ क्याच पूरा गर्नुभएको छ । रोहित एकदिवसीय प्रतियोगितामा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान बन्नुभएको छ । विराटले एकदिवसीयमा आठ हजार रन पूरा गर्नुभएको छ ।

रोहितको नाममा आइसिसी विश्व टेष्ट च्याम्पियनसिप (२०२३), एकदिवसीय विश्वकप (२०२३), टी-२० विश्वकप (२०२४) र च्याम्पियन्स ट्रफी (२०२५) को फाइनलमा छ । भारत यसअघि २०२३ को एकदिवसीय विश्वकप, २०२४ को टी-२० विश्वकपको फाइनलमा पुगेको थियो । एजेन्सी