चलचित्र ‘अञ्जिला’को ट्रेलर युट्युबको ट्रेन्डिङमा (भिडियो सहित)

काठमाडौं := यही फागुन २९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अञ्जिला’को शुक्रवार सार्वजनिक गरिएको ट्रेलर नेपालका लागि युट्युब ट्रेन्डिङको चलचित्र सेक्सनको दोस्रो स्थानमा छ । ट्रेलरले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तान बन्दासम्मको कथा प्रस्तुत छ ।

दर्शकहरूले एञ्जिलालाई आफ्नै वास्तविक कथामा बनेको चलचित्रमा अभिनेत्रीको रूपमा समेत आफैंले निभाएको चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्र ‘अञ्जिला’को ट्रेलरलाई प्राप्त दर्शकको माया र प्रतिक्रियाको लागि आभार व्यक्त गर्नुभएको छ ।

उहाँले युट्युबको ट्रेन्डिङमा दोस्रो स्थानमा पुगेकोमा खुशी व्यक्त गर्दै, चलचित्रलाई पनि यसरी नै माया गर्न दर्शकलाई आग्रह गर्नुभएको छ । चाम्सले विशेषगरी खेल प्रेमी र खेलाडीहरूलाई यो चलचित्र हेर्न अनुरोध गर्नुभएको छ ।

यस चलचित्रमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई,  सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ ।

चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् ।