जापानमा युवाहरूले विवाह गर्न ढिलाइ गर्दै गर्दा जन्मदर इतिहासकै न्युन।

टोकियो:= जापानमा युवाहरूले विवाह गर्न ढिलाइ गर्दै गर्दा र वृद्ध जनसंख्या बढ्दै जाँदा लगातार नवौं वर्ष घट्दै गएर सन् २०२४ मा जन्मदर फेरि रेकर्ड न्यूनस्तरमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । यी आँकडा हरूले विश्वको चौथो ठूलो अर्थतन्त्रले सामना गर्दै गरेको नाटकीय जनसांख्यिकीय चुनौतीलाई उजागर गर्छन् ।

जापानमा घट्दो श्रमशक्तिले बढ्दो वृद्ध जनसंख्याको हेरचाहको लागत वहन गर्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्यांक अनुसार सन् २०२४ मा विदेशी नागरिकहरूसहित जापानमा सात लाख २० हजार ९८८ बच्चा जन्मिएका थिए । यो सन् २०२३ मा सात लाख ५८ हजार ६३१ बाट पाँच प्रतिशतले कम हो ।

जन्मको संख्या सरकारले सन् १८९९ मा तथ्यांक राख्न सुरु गरेयता सबैभन्दा कम भयो । मृत्युको संख्या जन्मको तुलनामा दोब्बरभन्दा बढी थियो । मृत्यु हुनेको संख्या सन् २०२३ मा एक दशमलव आठ प्रतिशतले बढेर १६ लाख २० हजार पुगेको छ ।

जापानको कूल जनसंख्या यस महिना १२ करोड ३५ लाख ४० हजार पुगेको आन्तरिक मामिला मन्त्रालयको गतहप्ताको तथ्यांकले देखाएको छ । यो एक वर्षअघिको तुलनामा शून्य दशमलव ४६ प्रतिशतले कम हो ।

जन्म तथ्यांकले दक्षिण कोरियासँग तीव्र तुलना गरेको छ। दक्षिण कोरियामा बुधबारको तथ्यांकले सन् २०२४ मा प्रतिएक हजार मानिसमा जन्मिएका बच्चाहरूको संख्या बढेको छ । यो एक दशकभन्दा बढी समयमा पहिलोपटक हो । सन् १९७३ मा जापानमा २१ लाख बच्चा जन्मिएका थिए ।

जापानी प्रधानमन्त्री शिगेरु इशिबाले जनसंख्या संकटको सामना गर्नु आफ्नो शीर्ष प्राथमिकताहरूमध्ये एक रहेको बताउनुभएको छ । तर, शिक्षाको उच्च लागत, स्थिर अर्थव्यवस्था र जीवनशैलीमा परिवर्तनले युवाहरूलाई परिवार सुरु गर्न निरुत्साहित गरेको छ । रासस÷एएफपी ।