केबलकार निर्माण कार्य स्थगित गर्ने सर्तसहित ‘नो केबलकार समूह’लाई वार्तामा आउन आहृवान।

ताप्लेजुङ := ताप्लेजुङस्थित पाथीभरा मुक्कुम्लुङ केबलकार खारेजीको माग गर्दै आन्दोलनरत समूहलाई सरकारी वार्ता टोलीले फेरि वार्तामा आउन अपिल गरेको छ । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले सोमबार एक विज्ञप्ति जारी गर्दै पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्या समाधानका गर्न आन्दोलनरत पक्षलाई केबलकार निर्माण कार्य स्थगित गर्ने सर्तसहित पुनः वार्तामा बस्न आहृवान गर्नुभएको हो ।

वार्ता टोलीका संयोजकसमेत रहनुभएका गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधा गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादको लागि आउन हार्दिक अपिल गर्दछु ।’

यसअघि पनि सरकारी वार्ता टोलीले यस्तै प्रकृतिको वार्ताका लागि आहृवान गरेको थियो । ‘नो केबलकार समूह’ ले गृहसचिव स्तरको वार्ता टोलीले आफूहरूको माग सम्बोधन गर्न नसक्ने बताउँदै आएका छन् । सरकारले मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने उनीहरूको माग छ । सरकारी पक्षले यसअघि दुईपटक संवादका लागि आन्दोलनरत पक्षलाई बोलाइसकेको छ । एकपटक वार्ता भए पनि सहमति जुट्न नसक्दा ताप्लेजुङमा झडप बढ्न थालेपछि स्थानीय प्रशासनले प्रदर्शनमा रोक लगाएको थियो । सरकारले माघ १० गते गृह मन्त्रालयका सहसचिव भट्टराईको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको थियो ।