ट्रम्पका घोषणा र आदेशले नेपालमा तरंग, भने,: अनुदान दिएको ‘ठगी’ भयो।

एजेन्सी := गत जनवरी २० मा अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रोपटक हृवाइटहाउस प्रवेश गर्नुभएका डोनाल्ड ट्रम्पका नीति घोषणा र आदेशले सारा विश्वलाई तरंगित बनाउँदै लगेको छ । यस्तो तरंगबाट नेपाल पनि अलग रहेन ।

ट्रम्पकै आदेशका कारण नेपालमा पनि युएसएडको अनुदानमा सञ्चालित कार्यक्रमहरू स्थगित भएका छन् भने बहुचर्चित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पनि रोकिएको छ ।

तत्कालका लागि यस्तो स्थगन तीन महिनासम्म रहने दाबी गरिए पनि अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिले नेपालमा अमेरिकी सहयोग लामो समयसम्म प्रभावित हुनसक्ने अनुमान गर्न सकिन्छ ।

नेपाललाई अनुदान दिएको ‘ठगी’ भयो : ट्रम्प

अमेरिका नेपालको महत्वपूर्ण अन्तर्राष्ट्रिय दाता हो । लामो समयदेखि नेपालमा अमेरिकी सरकारले प्रत्यक्ष परोक्ष रूपमा अनुदान उपलब्ध गराउँदै आएको छ । हालै ट्रम्पले गरेको पत्रकार सम्मेलनमा नेपालबारे पनि टिप्पणी गरिएको थियो ।

उहाँले नेपालमा वित्तीय संघीयताका लागि २० मिलियन डलर अनुदान दिइएको र त्यसमा ठगी भएको टिप्पणी गर्नुभएको छ । ‘नेपालमा हामीले वित्तीय संघीयताका लागि २० मिलियिन डलर दियौँ । यो संख्या सुन्नुस त, यो सबै ठगी हो । जैविक विविधता संरक्षणका लागि १९ मिलियन डलर र मतदाता शिक्षाका लागि १ दशमलव ५ मिलियन डलर पनि दिएका छौँ’, ट्रम्पले भन्नुभयो ।

ट्रम्पको यस्तो टिप्पणीबारे नेपालले आधिकारिक प्रतिक्रिया नदिए पनि सरकार र सरोकारवालामाथि गम्भीर सवाल सिर्जना गरेको छ । ट्रम्पले नेपालको नामै किटान गरेर अनुदानलाई ‘ठगी’ भन्नुभएको हो ट्रम्पले राष्ट्रपति कार्यालय मातहत स्थापना गर्नुभएको अमेरिकी सरकार दक्षता विभाग (डज) ले दिएको सूचनाको आधारमा यस्तो अभिव्यक्ति दिएको बताइन्छ । सो विभागको प्रमुख अर्बपति व्यापारी एलन मस्क रहनुभएको छ ।