काठमाडौं := नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पूर्णरूपमा समावेशी भएको बताउनुभएको छ । पार्टीको भ्रातृसंस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन पार्टी कार्यालय सानेपामा बुधबार उद्घाटन गर्दै सभापति देउवाले पार्टी मात्रै होइन मुलुक नै समावेशिताको मामलामा सबैभन्दा अगाडि रहेको बताउनुभयो ।
‘नेपाली कांग्रेस पूर्णरूपमा समावेशी पार्टी हो,’ उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीमात्र होइन, मुलुक पनि समावेशिताको मामलामा सबैभन्दा अगाडि छ । हामीले मुलुकमा आन्दोलनका माध्यमबाट समावेशी लोकतन्त्र प्राप्त गरेका छौँ ।’
कांग्रेसले नै नेपालमा सबैभन्दा पहिला पार्टीमा ३३ प्रतिशत महिलाको आरक्षणको व्यवस्था गरेको बताउनुभयो । यो व्यवस्था संसारका कमै देशमा भएको उहाँको भनाइ थियो । आरक्षणबारे थप खुलाउँदै देउवाले भन्नुभयो, ‘हाम्रोमा आदिवासी जनजाति, मधेसी, थारू सबैको आरक्षण छ हाम्रो संविधानमा । हाम्रो पार्टी पनि त्यसै आधारमा बसेको छ । हाम्रो पार्टी पूरा समावेशी छ । हाम्रो संविधान पूरा समावेशी छ । हाम्रो देश नै पूरा समावेशी छ ।’ सभापति देउवाले संविधानमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताउनुभयो ।
उहाँले अग्रजहरूको त्याग र तपस्याले मुलुकमा परिवर्तन सम्भव भएको भन्दै प्रजातन्त्रका लागि लड्नेहरूलाई कांग्रेसले सदैव सम्मान गर्ने जिकिर गर्नुभयो । कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पार्टीलाई एकताबद्ध र बलियो बनाउँदै आगामी निर्वाचनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
महाकुम्भको अवसर पारेर भारत जाँदै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने हुनुभएको छ । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लाग्नुभएको हो । इण्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ कार्यक्रममा वक्ताको रूपमा सहभागी हुन देउवा भारत जान लाग्नुभएको हो ।
उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुनेछ । सो कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथसमेत सहभागी हुँदै हुनुहुन्छ । समिट अन्य देशबाट पनि वक्ताका रूपमा आमन्त्रण गरिएको छ । ४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदै छ । यसअघि कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसीलगायत पनि कुम्भ मेलामा सहभागी भई गंगामा स्नान गरेर फर्किनुभएको छ ।