२४औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जित्यो।

पोखरा:= पोखरामा सञ्चालन भएको २४औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी क्लबले जितेको छ। पोखरा रङ्गशालास्थित फुटबल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नेपालको विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै पाहुना टोली ब्ल्याक बुल्स च्याम्पियन बनेको हो ।

ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४०औँ, असिलबेक ओरिफजोनोभले ५८औँ तथा साभकातजोन सात्तोरोधले ६६औँ मिनेटमा गोल गर्नुभएको थियो । पुलिसका शिशिर चौधरीले ७४औँ मिनेटमा गरेको गोल सान्त्वना बन्यो ।

यसअघि ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई तीन-शून्य र सेमिफाइनलमा पाँचपटकको विजेता थ्रीस्टारलाई चार-शून्यले पराजित गरेको थियो । ब्ल्याक बुल्सले पहिलो सहभागितामै आहा रारा पोखरा गोल्डकपको उपाधि जित्दै इतिहास रचेको छ । कीर्तिमानी सातौं पटक च्याम्पियन बन्ने लक्ष्य राखेको पुलिसको सपना अधुरो रहेको छ ।

आहा रारा पोखरा गोल्डकपको उपाधि जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी र समग्रमा नवौं क्लब बनेको छ । यसअघि २०६२ सालमा अफ्रिकन खेलाडीहरू समावेश गरेर बनाइएको अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो । पुलिसले खेलको तेस्रो मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो । क्रसमा प्राप्त बलमा अरुण गाहाको हेडर पोष्टमा लागेर फर्किएपछि अग्रता लिन चुकेको थियो ।

आहा राराको इतिहासमा मनाङ र पुलिस क्लबले सर्वाधिक ६ पटक उपाधि जितेका छन् । थ्रीस्टारको नाममा पाँचवटा उपाधि रहेको छ । संकटा क्लब दुईपटक च्याम्पियन बन्दा आयोजक सहारा क्लब, अफ्रिकन युनाइटेड, एपिएफ र त्रिभुवन आर्मी क्लबले समान एकपटक उपाधि उचालेका छन् । प्रतियोगिताको उपाधिमा हृयाट्रिक गर्ने पुलिस एकमात्र टोली हो । पहिलो र दोस्रो संस्करणको विजेता पुलिस २०६४ पछि लगातार तीन वर्ष च्याम्पियन बनेको थियो ।

पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस क्लब पाचौँपटक उपविजेतामा सीमित बनेको हो । यसअघि सभापति कप, बुढासुब्बा, भरतपुर गोल्डकप गरी तीन प्रतियोगितामा लगातार पहिलो खेलमा नै पराजित हुँदै बाहिरिएको पुलिस क्लब आहा राराको भने फाइनलसम्म पुगेको थियो । उज्वेकिस्तानको टोलीसँग पराजित भएपछि पुलिस क्लब कीर्तिमान बनाउने सुन्दर अवसरबाट टाढिएको हो ।

विजेता ब्ल्याक बुल्सले १२ लाख एक हजारसहित आहा राराको आकर्षक ट्रफी प्राप्त ग¥यो भने उपविजेता पुलिसले छ लाख एक हजारमा चित्त बुझाएको छ ।मोफसलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताका रूपमा रहेको आहा रारा पोखरा गोल्डकपको २४औँ संस्करणमा कुल १२ टोलीको सहभागिता थियो । जसमा १० नेपाली र दुई विदेशी क्लब सहभागी थिए ।

ब्ल्याक बुल्सका सभ्कातजोन सत्तरोभ सर्वोत्कृष्ट खेलाडी
ब्ल्याक बुल्स एफसीका सभ्कातजोन सत्तरोभ पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेसँगै उहाँले टेल्जीको एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गर्नुभएको छ। उहाँ प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत बन्नुभएको छ । उहाँले प्रतियोगिताभर तीन गोल गर्नुभएको थियो ।

प्रतियोगिताको उदीयमान खेलाडी नेपाल पुलिस क्लबका सञ्जीव लामा बन्नुभयो । उहाँले २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । यस्तै, उत्कृष्ट गोलरक्षक ब्ल्याक बुल्सका जसुवेक राजाबोभ, उत्कृष्ट डिफेन्डर अलिजोन अलिजोनोभ बन्नुभयो । प्रशिक्षक अब्दुल अजिज निसोनभेव बन्न सफल हुनुभयो । फेयर प्ले अवार्ड सिक्किमको थन्डरबोल्ट युनाइटेड क्लबले पाएको छ ।

आहा रारा पोखरा गोल्डकपमा अहिलेसम्मका विजेता
२०५८ : नेपाल पुलिस क्लब
२०५९ : नेपाल पुलिस क्लब
२०६० : मनाङ मस्र्याङ्दी क्लब
२०६१ : मनाङ मस्र्याङ्दी क्लब
२०६२ : अफ्रिकन युनाइटेड
२०६३ : थ्रीस्टार क्लब
२०६४ : नेपाल पुलिस क्लब
२०६५ : नेपाल पुलिस क्लब
२०६६ : नेपाल पुलिस क्लब
२०६७ : थ्रीस्टार क्लब
२०६८ : मनाङ मस्र्याङ्दी क्लब
२०६९ : थ्रीस्टार क्लब
२०७० : सहारा क्लब
२०७१ : थ्रीस्टार क्लब
२०७२ : मनाङ मस्र्याङ्दी क्लब
२०७३ : मनाङ मस्र्याङ्दी क्लब
२०७४ : नेपाल पुलिस क्लब
२०७५ : थ्रीस्टार क्लब
२०७६ : मनाङ मस्र्याङ्दी क्लब
२०७७ : संकटा एफसी
२०७८ : एपिएफ एफसी
२०७९ : संकटा एफसी
२०८० : त्रिभुवन आर्मी एफसी
२०८१ : ब्ल्याक बुल्स एफसी, उज्वेकिस्तान