लिस्बोन:= पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै उच्च पारिश्रमिक लिने खेलाडीको सूचीको पहिलो स्थानमा रहन सफल हुनुभएको छ । शीर्ष एक सयको सूचीमा फुटबल, एनबिए, एनएफएल, गल्फ र बक्सिङका खेलाडीले बर्चस्व जमाएका छन् ।
यी खेलाडीले संयुक्तरूपमा गत वर्ष ६.२ बिलियन अमेरिकी डलर आम्दानी गरेको बताइएको छ । जसमा ४.८ बिलियन डलर पारिश्रमिक र पुरस्कार राशि तथा १.४ बिलियन डलर इन्डोर्समेन्टबाट प्राप्त भएको हो ।स्पोर्ट्स इण्ड्रष्टी न्युज साइट, स्पोर्टिकोले सार्वजनिक गरेको नयाँ सूचीमा शीर्ष एक सयभित्र महिला खेलाडी भने परेका छैनन् ।
रियल मड्रिडका पूर्वखेलाडी रोनाल्डोलाई साउदी प्रो लिग क्लब अल नासरसँगको आकर्षक सम्झौताका कारण लगातार दोस्रो वर्ष सर्वाधिक महँगो खेलाडी बनाएको हो। उहाँको कुल आय २६० मिलियन डलर छ । गत साता आफ्नो ४०औँ जन्मदिन मनाउनुभएका रोनाल्डोले २१५ मिलियन डलर पारिश्रमिक र ४५ मिलियन डलर इन्डोर्समेन्टबाट कमाएको स्पोर्टिकोले उल्लेख गरेको छ ।
दोस्रो स्थानमा एनबिए क्लब गोल्डेन स्टेट वारियर्सका स्टेफन करी हुनुहुन्छ । उहाँको गत वर्षको आम्दानी १५३.८ मिलियन डलर थियो । जुन रोनाल्डोको भन्दा एक सय मिलियन डलरभन्दा बढीले कम हो । बिट्रिस बक्सर टाइसन फ्युरी १४७ मिलियिन डलरका साथ तेस्रो स्थानमा रहनुभयो । शीर्ष पाँचभित्र अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पनि हुनुहुन्छ । एजेन्सी




















