चलचित्र ‘भाइरल गोर्खेको फर्स्टलुक सार्वजनिक, सामाजिक सञ्जालमा भाइरल हुने कथा।

काठमाडौं := चलचित्र ‘भाइरल गोर्खेको फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार भयालेनटाइन डेको अवसरमा सार्वजनिक पोस्टरमार्फत् चलचित्र आगामी वर्षको जेठ ३० गतेदेखि सिनेमाघरमा आउने जानकारी दिइएको हो ।

निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक पोष्टरमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्तामा प्रस्तुत गरिएको छ ।

‘नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव तीव्र रूपमा बढ्दै जाँदा भाइरल हुने नाममा जे पनि गर्ने प्रवृत्ति हावी हुँदै गएको छ,’ निर्देशक श्रेष्ठले भने, ‘हाम्रो सिनेमा यही विषयमा केन्द्रित छ र यसका प्रभावलाई देखाउने प्रयास गरिएको छ ।’

अर्को पोष्टरमा भने उहाँको सामाजिक सञ्जालमा लाइभ अनि अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिनुभएको छ । यसले चलचित्रले पछिल्लो समय नेपालमा विकृतिको रूपमा मौलाउँदै गरेको भाइरल प्रवृत्तिलाई व्यंग गरेको बुझ्न सकिन्छ ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको यो चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय छ ।

विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको चलचित्रको सहनिर्माता भुवन अधिकारी र निखिल पौडेल हुनुहुन्छ । अमर महर्जनको छायांकन रहेको यो चलचित्रलाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा छायांकन गरिएको हो ।