युएई := सरकारले संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था सुरु गरेको छ। बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले यो सेवाको शुभारम्भ गर्नुभयो।
अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवाहरूलाई सहज र प्रविधिमैत्री बनाउँदै लैजाने बताउनुभयो।
राजदूतावासबाटै श्रम स्वीकृति दिने व्यवस्थाले श्रमिकहरू लाभान्वित हुने, नेपाल गइरहनुपर्ने झन्झट हट्ने र आफ्नो पेसालाई निरन्तरता दिन सहज हुने उहाँको भनाइ थियो।
मन्त्री भण्डारीले यो व्यवस्था अन्य दूतावासहरूमा पनि क्रमशः लागू गरिने बताउँदै वैदेशिक रोजगारीमा रहेको ठूलो युवाशक्ति र विप्रेषणको महत्त्वलाई मध्यनजर गर्दै सरकारले श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समय अनुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै अनलाइन श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि श्रमिकहरूलाई सहज हुने बताउनुभयो। उहाँले अबुधाबीस्थित नेपाली राजदूतावास श्रमिकहरूको हकहितमा सधैँ प्रतिबद्ध रहेको बताउनुभयो।
राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा श्रमसम्बन्धी अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। अबुधाबी मस्कटपछि वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने दोस्रो राजदूतावास हो।
कार्यक्रममा गैरआवासीय नेपाली संघ र नेपाली समाज युएईका प्रतिनिधि सष्ठित यूएईमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो। साथै गैरत्रावासीय नेपाली संघ युएईका अध्यक्ष श्री विकास शाही र नेपाली समाज यूएईका अध्यक्ष श्री राम मोक्तानले पनि आ-आफ्नो वारणा राख्नुभएको थियो।
यता करिबकरिब ५ लाख नेपाली श्रमिक कार्यरत रहेको मलेसियामा पनि दूतावासबाटै नेपालीको लागि श्रम स्वीकृति र श्रम नविकरणको सेवा दिनुपर्ने माग बर्षौदेखी उठेपनि अहिलेसम्म पनि सरकार र दूतावासले सुनुवाइ गरेको छैन। जसको कारण अहिलेपनि लाखौं नेपाली श्रमिकहरु श्रम सेवा र सरकारबाट पाउन सकिने सेवा सुविधा बाट बन्चित हुनुपरेको छ ।