पोखरा := उज्वेकिस्तान क्लब ब्ल्याक बुल्स २४औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा ललितपुरे क्लब थ्रीस्टारलाई चार-शून्य गोलले पराजित गर्दै ब्ल्याक बुल्स उपाधि नजिक पुगेको हो ।
उपाधिका लागि उज्वेकिस्तान क्लबले शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पुलिस चर्च ब्वाइज युनाइटेडलाई हराउँदै फाइनलमा पुगेको हो । बिहीबारको खेलमा थ्रीस्टारलाई सुरुवातबाटै दबाबमा राखेको ब्ल्याक बुल्सले २५औँ मिनेटमा कुभोनचबेक ओलिमोभको गोलबाट अग्रता बनाएको थियो ।
पहिलो हाफमा एक-शून्यमा रोके पनि थ्रीस्टारले दोस्रो हाफमा पनि लय समाउन सकेन । ५८औँ मिनेटमा असिलबेक ओरिफजोनोभले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर बनाउनुभएको थियो । त्यसको पाँच मिनेटपछि नै उज्वेकिस्तान क्लबले अर्को गोल थप्यो ।
६३औँ मिनेटमा सात्तोरोभले आकर्षक गोल गरेपछि ललितपुरे क्लब तीन-शून्यले पछि पर्यो । ८७ औँ मिनेटमा वैकल्पिक खेलाडी साइदजमोद दाभलातजोनोभले गोल गरेपछि उज्वेकिस्तान क्लब ब्ल्याक बुल्स चार-शून्यको जित निकाल्न सफल भएको हो ।
भोलि (शनिबार) हुने उपाधि भिडन्तमा पुलिसले उपाधि उचाले सातौंपटक च्याम्पियन बन्नेछ भने ब्ल्याक बुल्सले जिते आहा रारा गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ । तीन विदेशी तथा नौ स्वदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने र उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने छ। प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने आयोजकले जनाएको छ।




















