काठमाडौं := नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित हुनुभएको छ । नयाँ शक्तिको प्रथम महाधिवेशनको निर्वाचनबाट अध्यक्षमा पुनः भट्टराई निर्वाचित हुनुभएको हो । अध्यक्षका लागि भट्टराईसँग नेत्र चापागाईंले प्रतिस्पर्धा गर्नुभएको थियो ।
मत परिणामअनुसार भट्टराईले ७६१ मत ल्याउँदा चापागाईंले जम्मा ७३ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धीभन्दा ६८८ मत बढी ल्याएर डा. भट्टराई नेतृत्वमा निर्वाचित हुनुभएको हो । महाधिवेशनमा एक हजार ३२४ जना प्रतनिधि रहेकोमा जम्मा ८२६ मत खसेको थियो ।
लामो समयदेखि वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्दै आउनुभएका भट्टराईकै नेतृत्वले निरन्तरता पाउँदा नयाँ शक्ति आफैँमा कति नयाँ भन्ने प्रश्न उठेको छ। भट्टराईसँगै माओवादी छाडेर लागेकाहरू नयाँ शक्तिको विभिन्न जिम्मेवारीमा निर्वाचित हुनुभएको छ ।
निर्वाचनबाटै उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठामगर र उमेश साह निर्वाचित हुनुभएको छ । भट्टराई पुत्री मानुषी यमी महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो । दलिततर्फको उपाध्यक्षमा दुर्गा सोब र कोषाध्यक्षमा हरि रिजालसहित २२ जना निर्विरोध निर्वाचित हुनुभएको हो ।
नेसपा (नयाँ शक्ति) को केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ । जसमध्ये २० प्रतिशत युवा आरक्षण छुट्याइएको छ । नेकपा माओवादीका संस्थापन, युद्धकालीन माओवादी जनसरकारका प्रमुख तथा पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले संविधान सभाबाट संविधान बनेलगत्तै माओवादी पार्टी छाडेर नयाँ शक्ति निर्माणको घोषणा गर्नुभएको थियो ।
भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी गठन भए पनि विभिन्न समयमा विभिन्न पार्टीसँग एकता हुने क्रममा नयाँ शक्तिको अस्तित्व सकिइसकेको थियो । गत संसदीय निर्वाचनमा नेपाल समाजवादी पार्टीको नेतृत्व गर्नुभएका भट्टराई आफू कुनै पदको उम्मेदवार रहनुभएन ।
सो पार्टीका नेताहरू नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेका थिए । गत वर्ष नेसपा पनि विभाजित भएपछि डा. भट्टराईले नेसपाको नाम फेरेर नेसपा (नयाँ शक्ति) बनाउनुभयो । नेसपाको नाममा नयाँ शक्ति जोडे पनि नेतृत्व भने पुरानै स्थापित भएको छ ।




















