संसद बैठकमा रवि लामिछानेको नाम उच्चारण गर्दा प्रतिपक्षी दलले सदन नै अवरुद्ध गरे।

काठमाडौं := प्रतिपक्ष दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । सदनलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका हुन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि सभामुखको आसनमा रहनुभएकी उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिनुभएको थियो ।

सांसद खतिवडाले अदालत परिसरमा कानुन व्यवसायी कुटिएको लगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । सांसद खतिवडाले आफ्नो मन्तव्य राखेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले नियमापत्ति जनाउनुभयो ।

सांसद पराजुलीले सत्तापक्षीय सांसदलाई कुन नियममा रहेर आकस्मिक र शून्य समय सकिएपछि बोल्न दिइयो ? भन्दै प्रश्न गर्नुभयो । सभामुखको आसनमा रहनुभएकी उपसभामुखले सांसद खतिवडाले आकस्मिक समयमा नै नाम टिपाएको भए पनि छुटेका कारणले बोल्न दिइएको स्पष्टीकरण दिनुभयो । विधि र प्रक्रियाबारे लगातार प्रश्न उठाएपछि उपसभामुख रानाले अध्ययन गर्न सचिवालयलाई निर्देशन दिनुभयो ।

तर, विपक्षी दलका सांसदहरूले चित्त नबुझेको भन्दै सांसद खतिवडाका अभिव्यक्ति संसद्को रेकर्डबाट मेट्न माग गरे । त्यसपछि सभाको नेतृत्व गर्न सभामुख देवराज घिमिरे आउनुभयो । सभामुख आउँदा पनि विपक्षी दलका सांसद आ-आफ्नो स्थानबाट उभिएर बैठकमा अवरोध गरिरहे । सभामुख घिमिरेले पनि अध्ययन गरेर आवश्यक निर्णय लिन आदेश दिइसकेकाले बसेर बैठक सञ्चालनमा सघाउन आग्रह गर्नुभयो ।

तर, विपक्षी दलका सांसदहरूले नमानेपछि सभामुख घिमिरेले बैठक स्थगित गर्नुभयो । सभामुख घिमिरेले १५ मिनेटको लागि स्थगित गरेको बैठक एक घण्टा २५ मिनेटपछि मात्र सुरु भएको थियो । दोस्रो बैठकको प्रारम्भ गर्दै सभामुख घिमिरले यसअघि सभाबाट भएको निर्देशनबमोजिम छानविन गरी निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।

संसद् नै अवरोध हुनेगरी के बोलेका थिए सांसद खतिवडाले ?

मंगलबार बसेको प्रतिनिधि सभामा आकस्मिक र शून्य समय सकिएर विशेष समय सुरु हुन लाग्दै सांसद रामहरि खतिवडाले उठेर समय माग गर्नुभयो । आफूले आकस्मिक समयमा बोल्नका लागि समय मागेको तर नपाएको उहाँको दाबी थियो ।

सभाध्यक्षको आसनमा रहनुभएकी उपसभामुख इन्दिरा रानाले आकस्मिक र शून्य समय दुवै सकिएको बताउनुभयो ।  तर, आफूले समय मागेको खतिवडाले दोहोर्‍याउनुभयो । त्यसबेला सभामुखको आसनको दायाँ बायाँ रहेका संसद् सचिवालयका कर्मचारीहरूले टिपाएको तर, नाम बोलाउन बिर्सिएको स्मरण गराए ।

त्यसपछि उपसभामुख रानाले दुई मिनेट समय दिनुभयो । त्यसपछि बोल्न सुरु गर्नुभएका खतिवडाले रास्वपा सभापति रवि लामिछाने लक्षित गर्दै भन्नुभयो, ‘नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आएको छ ।तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ, एक नम्बरकोलाई नबनाएर १५ नम्बरकोलाई प्रमोसन गरेको हामीले हिजो देख्यौँ ।

आइजीलाई समितिमा बोलाएर निर्दोष छ भन्देऊ भनेर कानेखुसी गरेको पनि सुन्यौँ । कल्ले सदुपयोग गर्‍यो, कल्ले दुरुयोग गर्‍यो ?’ खतिवडा बोलिरहँदा रास्वपाका सांसद गणेश पराजुलीले प्रश्न उठाएर विधिअनुसार नभएको भन्दै रास्वपाका सांसदहरूले विरोध सुरु गरे । त्यसपछि रास्वपालाई प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदहरूले पनि साथ दिए ।