काठमाडौं := कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि भन्ने नाराका साथ आयोजना हुने भनिएको छैटौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८१ स्थगन गरिएको छ । उक्त प्रदर्शनी नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा फागुन १५ देखि १८ गतेसम्म बुटवलमा हुने तय भएको थियो ।
तर, अमेरिकी सरकारले नेपाललाई दिँदै आएको आर्थिक सहयोग स्थगित गरेपछि प्रदर्शनी पनि प्रभावित हुन पुगेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार युएसआइडीमार्फत् नेपाललाई दिइने अनुदान रकम रोकिएकाले प्रदर्शनीका लागि आवश्यक आर्थिक सहयोग पनि प्रभावित भएको नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले बताउनुभएको छ ।
उहाँका अनुसार अमेरिकी सरकारले दिँदै आएको आर्थिक सहयोग रोकिएपछि प्रदर्शनीका लागि आवश्यक तयारी गर्न समय नाघेको र आर्थिक व्यवस्थापनमा समस्या आएकाले प्रदर्शनी स्थगन गर्न बाध्य भएको हो ।पद वहालीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान रोक्न आदेश जारी गर्नुभएको थियो ।
ट्रम्प हृवाइट हाउस फर्केलगत्तै वैदेशिक विकास अनुदान तत्काल स्थगन गर्ने निर्णय भएको र ९० दिनको समीक्षापछि निक्र्योल गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकाले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको थियो । एक सय ७६ देशलाई दिइएको उक्त रकममध्ये ८८ प्रतिशत आर्थिक सहयोग र १२ प्रतिशत सैन्य सहयोग थियो ।
अमेरिकी अनुदानका आधारमा नेपाल १६औँ स्थानमा छ, अर्थ मन्त्रालय र युएसएआइडीबीच सन् २०२२ मा भएको पाँचवर्षे रणनीति सम्झौतामा ६५ करोड ९० लाख अमेरिकी डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान प्राप्त हुने उल्लेख छ । नेपालमा पूर्वाधारसम्बन्धी कार्यक्रमका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) मार्फत् ५५ करोड डलरको परियोजना सञ्चालनमा छ ।
अमेरिकाबाट गत वर्ष सबैभन्दा बढी युक्रेनले १७ अर्ब १९ करोड र इजरायलले तीन अर्ब ३० करोड डलर अनुदान पाएका थिए । राष्ट्रपति ट्रम्पले गत साता वैदेशिक अनुदान पुनर्मूल्यांकनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो । आर्थिक सहयोगविरुद्धका ट्रम्पका आदेशहरूले विश्व अर्थतन्त्रमै हलचल ल्याइदिएको छ ।