अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता विश्वनै तरंगित।

एजेन्सी := अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता एकपछि अर्काे निर्णय गर्नुभएको छ । ट्रम्पका निर्णयले अमेरिकाभित्र मात्र नभएर विश्व नै तरंगित भएको छ । गएको नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित ट्रम्पले जनवरी २० मा कार्यभार सम्हाल्नुभएको थियो ।

कार्यभार सम्हालेलगत्तै उहाँले विभिन्न कार्यकारी आदेश जारी गर्नुभएको थियो । ट्रम्पका सुरुआती निर्देशनले व्यापार, अध्यागमन, अमेरिकी वैदेशिक सहायता, जनसांख्यिकीय विविधता, मानव अधिकारदेखि कर्मचारी भर्नासम्मका मुद्दामा परिवर्तन ल्याएको छ ।

खासगरी अवैध रूपमा अमेरिका प्रवेश गरिरहेका र लाखौँ आप्रवासीलाई फिर्ता पठाउन ट्रम्प प्रशासनले पूर्ण प्रयत्न गरिरहेको छ । यसबाट विभिन्न देशका हजारौँ नागरिक फिर्ता हुनसक्ने देखिन्छ । यसबाहेक ट्रम्पले विदेशी सहायता रोक्न गरेको निर्णयले कैयौँ देशका यस्ता कार्यक्रम खारेज हुनसक्ने देखिन्छ ।

संसारिक शक्तिको केन्द्रमा रहेको संयुक्त राज्य अमेरिकाको विश्व अर्थतन्त्रमा गहिरो प्रभाव रहँदै आएको छ । ट्रम्पले नयाँ कार्यकारी आदेशमार्फत सबै किसिमका वैदेशिक अनुदान रोक्न आदेश जारी गर्नुभएको छ  । अब ९० दिनसम्म अमेरिकाले कुनै पनि मुलुकलाई अनुदान दिनेछैन । भइरहेको अनुदानसमेत स्थगित हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यो निर्णयले नेपाललगायत धेरै मुलुक प्रभावित भएका छन् । अमेरिका विश्वका अनेक मुलुकका निम्ति अनुदान दिने सबैभन्दा ठूलो दातृ मुलुक हो । अमेरिकाले सन् २०२३ मा मात्र ६८ अर्ब अमेरिकी डलर विश्वका विभिन्न १७६ देशलाई अन्तर्राष्ट्रिय अनुदान सहायता प्रदान गरेको देखिन्छ ।