बुकित बिन्ताङ् जालान आलोरमा अवैधानिक हैसियतमा रहेका १६ नेपालीसहित १७६ जना विदेशी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियन अध्यागमन विभाग (इमिग्रेशन) ले क्वालालम्पुर बुकित बिन्ताङ अवस्थित जालान अलोर वरपर बुधबार राति गरेको छापामारी धरपकडमा नेपालीसहित १७६ जना अवैधानिक विदेशी कामदारहरु लाई पक्राउ गरेको छ।

बुधबार साँझ ०७:१५ बजे सुरु भएको अपरेसन सार्वजनिक गुनासो र गुप्तचरको आधारमा क्वालालम्पुर सिटी हल (DBKL) सँगको सहकार्यमा जालान आलोरमा गरिएको छापामारीको क्रममा अवैधानिक हैसियतमा रहेका ७१ जना बंगलादेश, म्यानमारका ६०, इन्डोनेसियाका २४, नेपालका १६, पाकिस्तानका तीन, इजिप्ट र सुडानका एक–एक जना नागरिक पक्राउ परेको
क्वालालम्पुर अध्यागमन विभागका निर्देशक वान मोहम्मद साउपी वान युसुफले बताउनुभयो ।

पक्राउ परेका हरुको विरुद्ध “अध्यागमन ऐन १९५९/६३ को दफा ६(१)(ग) र दफा १५(१)(ग) र साथै अध्यागमन नियम १९६३ को नियमावली ३९(बी) बमोजिम मुद्दाको अनुसन्धान भइरहेको छ । वैध कागजात नभएको र देशमा बढी बसेको पाइएको छ। “पक्राउ परेका सबैलाई कागजात प्रक्रिया र थप कारबाहीका लागि क्वालालम्पुर अध्यागमन मुख्यालयमा लगिएको छ,” उनले भने ।

मलेसियाले पछिल्लो समय यहाँ अवैधानिक हैसियत अर्थात अध्यागमन कानुन उलंघन गरेका विदेशीहरु विरुद्ध तीब्र धरपकडको कार्य गरिरहेको छ । मलेसियामा अध्यागमनद्वारा पक्राउ परेमा कम्तिमा पनि ३ महिना जेल सजाय र १० हजार जरिवाना अथवा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान छ् ।