क्वालालम्पुर := थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी स्वदेशमा मात्र नभएर विदेशमा पनि धुमधामले मनाउन थालिएको छ । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका थारू समुदायका युवायुवतीले नेपाल सरकारको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई प्रमुख आतिथि बनाएर विशेष रूपमा माघी मनाउने तयारी गरेका छन् ।
थारु कल्याणकारिणी सभा मलेसियाको आयोजनामा ९औं वार्षिक उत्सव तथा माघी कार्यक्रम – २०२५ विशेष शुभकामना आदानप्रदान कार्यक्रम यहीँ जनवरी १९ तारिख आईतवारको दिन मनाउने तयारी गरिएको थाकस मलेसियाका अध्यक्ष ज्ञानचन्द्र चौधरीले जानकारी दिए ।
नेपाली दूतावास मलेसियाको विशेष आतिथ्य र मलेसियामा स्थापित विभिन्न संघसंस्थाको आतिथ्यता रहने कार्यक्रमको मूल नारा ‘हम्मन संस्कृति-हमनके सान, थारू संस्कृति प्रवर्द्धन काइना हम्मन के अभियान’ तय गरिएको छ ।
नेपाली दूतावाससँगै टासिएर रहेको भवनमा आयोजना हुने माघी कार्यक्रममा निःशुल्क प्रवेशसहित थारू परिकार घोंगी, बगिया, भुजाको लड्डु, फ्राई माछासहित खानाको बन्दोबस्त गरिएको अध्यक्ष चौधरीले बताए ।
विदेशमा खासगरी मलेसिया, यू. ए. ई., कतार , अस्ट्रेलिया, अमेरिकालगायत मुलुकमा बसोबास गर्ने थारूहरूले माघी पर्वलाई भव्य रूपमा मनाउने गरेका छन्।
माघीमा थारु खाना को परिकार बंगुरको मासु, माछा, घोंगी, गंगटालगायत खानाका परिकार खाने चलन रहिआएको छ । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका सम्पुर्ण नेपालीलाई उपस्थितिको लागि थाकस मलेसियाले निमन्त्रणासहित हार्दिक अनुरोध गरेका छ्न ।