काठमाडौं :=स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन सम्बन्धी मुद्दामा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।
आज आइतबार जिल्ला अदालत काठमाण्डूमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ ।
बयान सकिएपछि पनि थुनछेक बहस सुरू नभएपछि न्यायाधीश र लामिछानेपक्षका कानून व्यवसायीबीच थुनामा पठाउने कि जिम्मा जमानीका छाड्नेबारे विवाद भएको थियो।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो । आइतबार बिहानै अदालत उपस्थित भएमा रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो ।
लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए ।तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनि इजलासमा उठाएपछि न्यायाधीशले यस्तो आदेश गरेका हुन् ।
सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगको मुद्दामा कास्की अदालतको आदेश बमोजिम रवि ६५ लाख बराबरको धरौटी बुझाएर विहीबार रिहा भएका थिए।




















