आज ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै।

काठमाडौं := नेपालमा ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज (शनिबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।

हरेक वर्ष पुस २७ मा उहाँको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमासमेत दिने गरिएको छ । उहाँको विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा निधन भएको थियो ।

पृथ्वीनारायण शाह २० वर्षमा गोर्खाका राजा हुनुभएको थियो । शाहले राजगद्दीमा बसेलगत्तै नेपाल एकीकरण अभियानको सुुरुवात गर्नुभएको थियो । विसं १८०१ असोज १५गते नुवाकोटमाथि विजय हासिल गरेर उहाँले नेपाल एकीकरणको अभियान प्रारम्भ गर्नुभएको थियो ।

त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुर हुँदै उहाँले एकीकरण अभियानलाई पूर्वका चौदण्डी र विजयपुर हुँदै टिष्टासम्म पुर्‍याउनुभएको थियो। शाहले देशको पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गर्नुभएको थियो तर त्यो पूर्ण हुन सकेन ।

जे होस् नेपाल एकीकरण महान् अभियान उहाँले सुरुवात गर्नुभएको थियो । यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा दलका नेताहरूले शुभकामना व्यक्त गर्नुभएको छ ।

दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक
पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उहाँ दूरदर्शी राजा भएको प्रष्ट हुन्छ । विसं. १८३१ (सन् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट जानुभएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी पर्नुभयो ।

स्वास्थ्य झनझन् खराब हुँदै गएपछि उहाँकै इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही माघ १ गते ५२ वर्षको उमेरमा उहाँको निधन भयो । घाटमै राखिएको बेला उहाँले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरू दिनुभएको थियो, जसलाई दिव्य उपदेश भनिन्छ ।

यस्ता छन् दिव्य उपदेश

# मुलुकमा अन्याय हुन नदिनु ।
# सधैँ गुणको होइन नुनको पछि लाग्नु ।
# सुरक्षा निकाय र जनताप्रति बफादार रहनु ।
# जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो ।
# आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।
# सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नु ।
# नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।
# काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा बनाउनु ।
# अदालतको पैसा दरबारमा नलैजानु र त्यसको सदुपयोग, जोगी, संन्यासीलाई भोजन गराउनु ।
# खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानी चलाउनुपर्छ र उब्जनीयोग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँरहदा पछिल्लो समय विभिन्न टीका-टिप्पणी हुने गरेका छन् । यस्ता टीका-टिप्पणीप्रति विभिन्न भनाइ सार्वजनिक भइरहेको पाइन्छ । कसैले माने पनि नमाने पनि पृथ्वीनारायण शाह नेपाल राज्यका एकीकरणकर्ता र राष्ट्रनिर्माता भएको राजनीतिक विश्लेषक तथा अनुसन्धानकर्ता पेशल आचार्य बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘विगतलाई गाली गरेरभन्दा उसबाट पाठ सिकेर आगतलाई स्वर्णीम बनाउनु नै समाजका अभियन्ता र राजनीतिज्ञको काम हो । जनमानसले त गुण दोषका आधारमा हरेक ऐतिहासिक पात्रको छवि आफ्ना मनमा बनाएको हुन्छ । त्यो बन्न पनि समय लाग्छ र मेटिन पनि समय लाग्छ ।’ पृथ्वीनारायण इतिहास भएको भन्दै ‘इतिहासलाई सम्मान गर्नुपर्छ, पुर्खाको नासो र धरोहरकै रूपमा आज हामीले पाएको देश अझ अघि बढाउनुपर्छ’, उहाँ बताउनुहन्छ ।

राजनीतिक विश्लेषक प्राडा. सुरेन्द्र केसी पृथ्वीनारायण शाहलाई अमुक धर्म वा प्रणालीभन्दा पनि सबैको साझा धरोहर बनाई अपनाउनु नै साँचो अर्थमा उहाँप्रतिको सद्भाव हुने बताउनुहुन्छ । ‘उहाँको नाममा व्यापार र वृत्ति चलाउनेले उहाँको उचाइ घटाएका छन्’, उहाँले भन्नुभयो ।

यस्तै, लेखक तथा राजनीतिक विश्लेषक आरसी न्यौपाने आधुनिक राष्ट्र नेपाल निर्माणको अभियानबारे ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट मूल्यांकन गर्दा तत्कालीन वस्तुगत परिस्थितिको टड्कारो आवश्यकता एवं अपरिहार्यताको रूपमा महत्वपूर्ण कदम भनेर बुझ्नु नै युक्तियुक्त र वैज्ञानिक हुने बताउनुहुन्छ ।

विश्व मानचित्रमा नेपालको अस्तित्व र संसारभरि नेपालीहरूको महत्वलाई उच्च सम्मान र सहअस्तित्व कायम गराउने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह हुनुहुन्छ । यदि नेपाल देश नभएको भए हामी अहिले नेपाली पहिचानले परिचित हुनसक्ने थिएनौँ ।

पृथ्वी नारायणको दिवसका सन्दर्भमा हामीले नेपाल नेपालीको बृहत् हित अनुकूल सोच्ने बानी बसाल्नु नै पृथ्वीनारायण प्रतिको सच्चा श्रद्धाञ्जलि र उहाँलाई हेर्ने दृष्टिकोण र मूल्यांकनको सही आधार हुनसक्छ ।

यसमा कुन जाति, धर्म र व्यक्तिलाई कति मर्का पर्‍यो त्यो कदापि पहिलो विषय रहन जाँदैन दोस्रो मात्र हुन जान्छ किनभने व्यक्ति वा जाति धर्मभन्दा राष्ट्र जहिल्यै पनि माथि हुन्छ । पृथ्वीनारायण शाहले इतिहासमा व्यक्त गरेको पनि यो नै हो ।