काठमाडौं:= प्रधानमन्त्रीसमेत रहनुभएका सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रलगायतका दलले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यविरुद्ध मिथ्या संकथन निर्माणको प्रयास गरिहेको आरोप लगाउनुभएको छ ।
आइतबार सुरु भएको एमालेको आठौं केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रसहितका दलहरूले प्रचार गरिरहेको संकथन मिथ्या र भ्रामक रहेको दाबी गर्नुभएको छ ।
१८ महिना सरकारको नेतृत्व गरेर गत असारमा बाहिरिनुभएका प्रचण्डले भ्रष्टाचारका फाइल खोल्न सुरु गरेपछि सरकार ढालिएको, सुशासनको अभियान उल्ट्याउन सरकार ढालिएको र एमाले-कांग्रेस गठबन्धनले संविधान संशोधनका नाममा संघीयता, समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणालीलगायतका उपलब्धि खोस्न उद्यत् भएको आरोप लगाउँदै आउनुभएको छ ।
तर, अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रचण्डको अभिव्यक्ति शतप्रतिशत मिथ्या भएको उल्लेख गर्दै खण्डन गर्नुभएको छ । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्याउन उद्यत् देखिएको समेत आरोप लगाउनुभएको छ ।
पार्टी केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डलाई ‘अस्थिरता, अराजकता र प्रायोजित निराशा’ को प्रयास गरिरहेको पात्रका रूपमा चित्रित गर्दै भनिएको छ, ‘आज माओवादी केन्द्र एक वर्षअगाडि आफ्नै प्रदेश सभा सदस्यहरूको समेत सहभागितामा नामाकरण गरिएको ‘कोशी’ को विरुद्ध उग्रजातीयतावादी समूहहरूसँग मोर्चाबन्दी गरिरहेको छ । ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्याउन उद्दत देखिएको छ ।’
अध्यक्ष ओलीले माओवादी नेतृत्वले पूर्वराजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको आरोप लगाउँदै प्रतिवेदनमा लेख्नुभएको छ, ‘पूर्वराजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ । प्रधानमन्त्रीको चीन भ्रमण र हिजो आफ्नै कार्यकालमा भएको सम्झौतालाई समेत विवादित बनाउन उद्दत देखिएको छ ।
यी घटनाक्रमहरू माओवादी केन्द्रमा गहिरिँदै गरेको वैचारिक विचलन, राजनीतिक अस्थिरता, अवसरवाद र सरकारबाट बाहिरिनुपरेका पीडाका अभिव्यक्ति हुन् । कांग्रेस-एमालेबीच गठबन्धन भएपछि अस्थिरतामा रमाइरहेका समूहहरूमा बेचैनी उत्पन्न भएको छ ।’
३२ सिटलाई जादुको नम्बर भन्नु सत्ता लिप्साको कुरूप तस्वीर
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा आफूसँग जादु नम्बर रहेको बताउनुलाई सत्तालिप्साको कुरूप तस्वीर भएको उल्लेख गर्दै प्रतिवेदनमा लेख्नुभएको छ, ‘आफूसँग संसद्भित्र जादुको नम्बर रहेको र त्यसलाई प्रयोग गर्दै पाँचै वर्ष सत्ता चलाइरहने भन्दै दिइएको सार्वजनिक अभिव्यक्ति र कहिलेकाँही पार्टी सानो हुनु पनि फाइदाको विषय हुने, त्यसैलाई पार्टी सानो भयो भनेर कार्यकर्ताले चिन्ता गर्न नपर्ने भन्दै गरिएको टिप्पणी संसदीय मूल्यमान्यताको उपहास, अस्थिरताको दुराशय एवं राजनीतिक अवसरवाद र सत्तालिप्साको कुरूप तस्वीर थियो ।’



















