काठमाडौं := चलचित्र ‘पूजा सर : राजागंज’को पोष्टर सार्वजनिक गरिएको छ । चैत १ गते नेपालमा रिलिज हुने चलचित्रको पोष्टर बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक हुनुहुन्छ ।
‘पूजा सर : राजागंज’लाई दीपक रौनियारले निर्देशन गर्नु भएको छ । दीपकको निर्देशन रहेको यो चलचित्रमा दयाहाङ, आशा, विजय र निकितासँगै ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल, पुष्पा यादवलगायतको अभिनय छ ।
भारतका प्रसिद्ध निर्देशक अनुराग कश्यप कार्यकारी निर्माताको रूपमा जोडिएको यो चलचित्रलाई निर्देशक रामबाबु गुरुङले निर्माण गर्नुभएको हो । यसको स्क्रिनप्ले निर्देशक रौनियारले आशा मगरती र डेविड बार्करसँग मिलेर तयार पार्नुभएको हो ।
सांसदको छोरासहितका दुई बालक अपहरणमा परेपछि उनीहरूलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा चलचित्रले पेश गर्ने जनाइएको छ। यो चलचित्र थुप्रै अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा स्क्रिनिङ भइसकेको छ । गत भदौमा विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर हुँदा चलचित्रलाई १० मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ मिलेको थियो ।




















