काठमाडौं := स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा ४४ जनालाई प्रतिवादी कायम गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ ।
बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई राय दिएको छ ।
कात्तिक २१ मा लेखा समिति सदस्य सुनिता नेवा र कात्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामा पक्राउ परेका थिए । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न जिबी राई, पूर्व-डिआइजी छविलाल जोशी, जिबीको साढुभाइ दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने प्रहरीको राय छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा विद्यार्थी नेता दीपेश पुनकी पत्नी सविना आले मगरलाई पनि प्रहरीले प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ । सविना कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् । दीपेश पुन पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका हुन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा पाँच हजार ६६९ जना बचकर्ताले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपैयाँ जम्मा गरेको भेटिएको छ । केन्द्रीय कार्यालय कालिमाटीमा रहेको सो सहकारीको शाखा न्युरोड, महाराजगञ्ज, स्वयम्भू र जोरपाटीमा पनि खोलेर आर्थिक कारोबार गरेको भेटिएको छ । रकम अपचलनबारे अनुसन्धान गर्न प्रहरीमा ६९० जनाले जाहेरी दिएका थिए ।
स्वर्ण लक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा एक करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जिबी राई र पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा संयुक्त रूपमा प्रवाह भएको ऋण पनि नतिरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
रवि र जिबीको नाममा प्रवाह भएको ‘फोर हिृवलर लोन’ र ‘इको सेभेन सिटर भ्यान’ बापतको ६१ लाख फिर्ता गर्न बाँकी रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । राई र लामिछानेले लगेको रकमसहित सहकारीबाट गोर्खा मिडियामा गएको एक करोड ८२ लाख फिर्ता नगरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।




















