अन्ततः नेता वामदेव गौतम नेकपा (एकीकृत समाजवादी)मा जाने पक्का।

काठमाडौं := नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानबीच एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको छ । बुधबार समाजवादीको पार्टी कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेता र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम सहितका नेताबीच भएको छलफलका क्रममा छिट्टै एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको हो ।

सो क्रममा अभियानका तर्फबाट एकतामा समाहित हुने नेताहरूको जिम्मेवारीका सन्दर्भमा छलफल भएको थियो । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकताका लागि दुईपक्षीय समझदारीलाई अघि बढाउने विषयमा छलफल भएको जानकारी दिनुभयो । एकताका लागि धेरै समय कुर्न नपर्ने भन्दै उहाँले त्यसपछि नै समझदारीका विषय सार्वजनिक गर्ने उल्लेख गर्नुभयो ।

भीम रावलजी के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा गौतमले भन्नुभयो ‘त्यो मलाई थाहा छैन । माधवजी र म एकजुट हुने भइयो नि त । माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन ।’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयका साथै विभिन्न विषयमा दुई पक्षबीच छलफल भएको जानकारी दिनुभयो ।

पार्टीलाई एकताबद्ध गरेर गति दिने विषयसम्मको छलफल भएको भन्दै उहाँले एकताबद्ध हुने विषयमा सैद्धान्तिक समझादारी भएको बताउनुभयो । एकताका लागि मिलाउनुपर्ने विषयमा निरन्तर छलफल गर्दै छिट्टै एकताको प्रक्रिया टुंगो लगाउने उहाँले बताउनुभयो ।

एकीकृत समाजवादीको तर्फबाट वार्तामा सहभागी पोलिटब्युरो सदस्य बलराम बास्कोटाले आधारभूत विषयहरू टुंगो लागेको र केही प्राविधिक विषयलाई अन्तिम रूप दिन बाँकी छ । ‘अब जे, जति कुरा बाँकी छन्, ती नमिल्ने र अड्किने खालका छैनन्’, उहाँले बताउनुभयो ।

पार्टीमा नेता गौतमलाई वरिष्ठ नेताको पदसहित तेस्रो वरीयता दिने विषयमा सबै नेताबीच मतैक्यता रहेको बाँस्कोटाले सुनाउनुभयो । त्यसबाहेक गौतम नेतृत्वको अभियानबाट एकतामा सहभागी हुने नेताको हैसियत अनुसारको पद व्यवस्थापनमा पनि नेताहरूको बीचमा कुरा मिलेको उहाँले बताउनुभयो ।

बुधबारको वार्तामा गौतम एक्लै हुनुहुन्थ्यो । एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, सचिव सावित्रा भुसाल, गणेश विक, चन्द्रबहादुर शाही, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा सहितका नेता सहभागी हुनुहुन्थ्यो । कुराकानीलाई अन्तिम रूप दिन केही दिनमै फेरि वार्ता गरिने बाँस्कोटाले जानकारी दिनुभयो ।