काठमाडौं := चलचित्र ‘नरसिंहाः अवतार’ नयाँवर्षको छेको पारेर आगामी चैत २९ गते प्रदर्शनमा आउने भएको छ । एक्सन र सोसल ड्रामामा निर्माण भएको यो चलचित्र एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ ।
दिवाकर भट्टराईको निर्देशन रहेको यो चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, सरोज खनाल, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवरलगायत कलाकारको अभिनय छ ।
यो चलचित्रबाट आठ वर्षपछि राजेश हमालको कमब्याक हुँदैछ । अभिनेता सरोज खनाल र हमाल ३० वर्षपछि एकसाथ चलचित्रमा काम गर्दैहुनुहुन्छ । उहाँहरूले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको चलचित्र ‘सडक’मा सँगै काम गर्नुभएको थियो ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रमा द्वन्द निर्देशक चन्द्र पन्त हुनुहुन्छ । चलचित्रमा निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र ध्रुव न्यौपानेको लगानी छ ।




















