एजेन्सी := भारतका पूर्व प्रधानमन्त्री एवं भारतीय राष्ट्रिय कंग्रेसका नेता डा. मनमोहन सिंहको ९२ बर्षको उमेरमा विहीवार निधन भएको छ । अल इन्डिया मेडिकल इन्स्टिच्युट नयाँ दिल्लीमा उपचारका क्रममा हिजो बिहिवार सिंहको निधन भएको भारतीय पत्रीकाहरुले जनाएका छन्।
सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री रहे । सिंह लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री भएका थिए । अर्थमन्त्री हुँदा भारतमा आर्थिक सुधारमा आमूल परिवर्तनको श्रेय सिंहलाई नै जान्छ । भारतीय अर्थ (वित्त)मन्त्री हुँदा होस् वा सन् २००४ देखि २०१४ सम्मको प्रधानमन्त्री कार्यकाल, आर्थिक सुधारसहितका महत्वपूर्ण कामहरुको श्रेय उनलाई जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी जवाहरलाल नेहररुपछि लगातार दोस्रो कार्यकाल प्रधानमन्त्री चुनिने पहिलो भारतीय थिए । उनले १९८४ मा सिख दंगाका लागि भारतीय संसदसामु माफी मागेका थिए । सन् १९८४ मा भएको सिख दंगामा कम्तिमाा पनि तीन हजार जना मारिएका थिए । प्रधानमन्त्रीको रुपमा उनको दोस्रो कार्यकाल चर्चित रहयो । दोस्रो कार्यकालमा भ्रष्टाचारका कयौँ मामिला बाहिर आए । ति घोटालाका कारण सन् २०१४ को आम चुनावमा कांग्रेसलाई निकै ठूलो धक्का लागेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिंहको निधन प्रति दुःख व्यक्त गरेका छन। ‘डा. मनमोहन सिंह जी र म गुजरातको मुख्यमन्त्री हुँदा नियमित कुराकानी गर्थ्यौं। हामी सुशासनसँग सम्बन्धित विभिन्न विषयमा गहिरो छलफल गर्थ्यौं। उहाँको बुद्धिमत्ता र नम्रता सधै देखिने थियो। दुखको यस घडीमा डा. मनमोहन सिंहजीको परिवार, उहाँका साथीहरू र अनगिन्ती प्रशंसकहरूसँग मेरो समवेदना छ। ओम शान्ति’, उनले लेखका छन्।
जन्म र पढाई
मनमोहन सिंहको जन्म, २६ सेप्टेम्बर, १९३२ मा भारतको पन्जावमा भएको हो । उनी जन्मिएको प्रान्तीय भूभाग अहिले पाकिस्तानमा पर्दछ । पन्जाव युनिभर्सिटीबाट पढाई सकेपछि उनले क्याम्ब्रिजबाट मास्टर्स गरेका थिए भने, अक्सफोर्डबाट डी’फिल गरेका थिए ।
उनकी छोरी दमलले आफ्नो किताबमा क्याम्ब्रिजको पढाइका दौरान मनमोहनले कयौँ आर्थिक अभावसँग जुध्नु परेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘उनको ट्युशन र बस्न खानको खर्च लगभग ६०० पाउण्ड थियो । पन्जाव युनिभर्सिटीको स्कलरसिपबाट उनलाई करिब १६० पाउण्ड मात्रै प्राप्त भएको थियो । बाँकी रकमका लागि उनी पिताको भर पर्नु परेको थियो । यद्यपि, मनमोहन सादगी जीवन व्यतित गर्थे ।’




















