काठमाडौं := लामो समयपछि सीमित उद्योगमा पुनः मलेसिया रोजगारी खुलेसँगै विभिन्न स्वार्थ समूहले चलखेल गर्न थालेका छन् । मलेसियाले सूचीकृत सबै मेडिकलले स्वास्थ्य परीक्षण गर्न पाउने नयाँ नियम लागू गरे पनि फेरि सिण्डिकेट खडा गर्न स्वार्थ समूह सक्रिय भएको हो ।
स्वास्थ्य परीक्षणमा एकाधिकार जमाएको नेपाल स्वास्थ्य व्यवसायी महासंघले पुनः सिण्डिकेट धन्धा चलाउन चलखेल सुरु गरेको स्रोत बताउँछ । महासंघले मेडिकलको सिण्डिकेटलाई निरन्तरता दिनेगरी भ्रम छर्ने काम गरिरहेको स्रोतको दाबी छ । मलेसिया सरकार र नेपालस्थित मलेसियन दूतावासका अनुसार अब सरकारबाट सूचीकृत सबै स्वास्थ्य संस्थाले मलेसियामा जाने कामदारको मेडिकल गर्न पाउने नयाँ व्यवस्था छ ।
मलेसियाले महिनौँअघि नेपालीसहित आप्रवासी कामदारको रोजगार प्रक्रियालाई व्यवस्थापन गर्न कार्यान्वयनमा ल्याएको विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस) नवीकरण गरेको थियो । महासंघले त्यसैलाई देखाएर नेपालमा ६ वर्षसम्म चलेको मेडिकल सिण्डिकेटलाई निरन्तरता दिने प्रयास सुरु गरेको हो ।
सूचीकृत सबै स्वास्थ्य संस्थाले मेडिकल गर्न पाउने मलेसियन सरकारले निर्णयको नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र मेनपावर व्यवसायीहरूले स्वागत गरिसकेका छन् । तर, केही स्वार्थ समूह भने पुनः स्वास्थ्य परीक्षणको सिण्डिकेट ब्युँताउन लागिपरेका हुन् । मलेसियामा प्रवेश गर्न विदेशी कामदारलाई मेडिकल परीक्षण अनिवार्य छ ।
वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारी सूचीकृत सबैले स्वास्थ्य परीक्षण गर्न पाउने मलेसियाले गरेको व्यवस्था स्वागतयोग्य भएको बताउनुहुन्छ । नयाँ व्यवस्थाले कामदारको लागत घट्ने उहाँको भनाइ छ । कुनै पनि सिण्डिकेट बैरो संघलाई मान्य नहुने उहाँले बताउनुभयो ।
सम्झौता नवीकरण नहुने भएपछि राजनीतिक दौडधुप
मलेसिया रोजगारीको मेडिकलमा सिण्डिकेट खडा गरेको बेस्टिनेट एसडिएन बिएचडी र नेपाल स्वास्थ्य व्यवसायी महासंघबीचको एग्रिमेन्ट गत मे महिनामै सकिएको थियो । उक्त सम्झौता अब नवीकरण नहुने भइसकेको छ ।
चौथोपटक महासंघको अध्यक्ष बन्नुभएका सदाबहार अध्यक्ष कैलाश खड्का पुनः सिण्डिकेट ब्युँताउन राजनीतिक शरणमा पुगेको स्रोत बताउँछ । स्रोतका अनुसार केही दिन पहिले मलेसिया पुग्नुभएका खड्का पुनः नेपालमा आएर राजनीतिक दलका नेताहरूको घरदैलो चहार्न थाल्नुभएको छ ।
महासंघको सिण्डिकेटका कारण मलेसिया जाने कामदारको लागत बढिरहेको थियो । सामान्यतः सस्तोमै मेडिकल गरेर मलेसिया जान पाइने भए पनि सिण्डिकेटधारीहरूले विगत ६ वर्षदेखि प्रतिकामदार नौ हजार ८०० असुलिरहेका छन् । यही परीक्षण सूचीकृत अन्य स्वास्थ्य संस्थामा भने दुई हजारमै हुन्छ । मेडिकलका नाममा एकै कामदारलाई पटक–पटक मेडिकल गराएर आर्थिक थपिँदै आएको छ ।
भ्रम छर्न गलत प्रचारको सहारा
मलेसिया रोजगारको लागि मेडिकल गराउन कुन–कुन संस्थालाई मान्यता दिने/नदिने भन्ने कुराको निर्धारण पनि महासंघ अध्यक्ष खड्काकै तजबिजमा भएको एक मेडिकल व्यवसायी बताउँछन् । उहाँका अनुसार खड्काको स्वार्थसँग जोडिएकाहरूले मात्र यो सिण्डिकेटभित्र छिरेर मेडिकल गर्दै आएका छन् ।
उनीहरूले फेरि सिण्डिकेट भित्रकै मेडिकलबाट कामदारको स्वास्थ्य परीक्षण गराउनुपर्ने भन्दै भ्रामक सूचनासमेत सार्वजनिक गरेका छन् । केही महिना पहिले नवीकरण भएको एफडब्लुसिएमएसलाई देखाएर उनीहरूले आफूअनुकूल प्रचार गरिरहेका छन् ।
मलेसियाले जहाँबाट मेडिकल गरे पनि हुने स्पष्ट जानकारी सम्बन्धित पक्षलाई पठाइसकेको छ । तर, सिण्डिकेट पक्षले भने एफडब्लुसिएमएस नवीकरण भएसँगै स्वतः सीमित मेडिकलले मात्रै परीक्षण गर्न पाइने भन्दै मिडिया ट्रायलसमेत भइरहेको ती व्यवसायीले बताउनुभयो ।