वर्षाका कारण खेल रद्द भएपछि नेपाली र श्रीलंकाले अंक बाँडे, आज बंगलादेशको सामना गर्ने।

क्वालालम्पुर := मलेसियामा जारी महिला यू-१९ एसिया कप क्रिकेटअन्तर्गत ‘सुपर-४’ को नेपाल र श्रीलंकाबीचको बिहीबारको खेल वर्षाका कारण रद्द भएको छ । वर्षा नरोकिएपछि खेल रद्द भएको हो ।

मलेसियाको वेयुमास ओभल क्रिकेट मैदानमा भएको खेल रद्द भएपछि नेपाल र श्रीलंकाले एक-एक अंक बाँडेका छन् । नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो ।

नेपालकी कप्तान पूजा महतोले पहिलो ओभरमा विकेट लिएर श्रीलंकालाई झट्का दिनुभएको थियो । आफ्नो ओभरको तेस्रो बलमा उहाँले हिरूनी हंसिकालाई एलिसाकुमारी यादवको हातबाट क्याच गराउनुभएको थियो ।

पहिलो ओभरमा उहाँले एक रनमात्रै खर्चनुभएको थियो । तर, वर्षाका कारण दोस्रो ओभरको खेल हुन सकेन । वर्षा नरोकिएपछि खेल स्थगित गरिएको थियो । नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा प्रवेश गरेको थियो ।

समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक-एक अंक बाँडेका थिए । सुपर-४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । नेपालले शुक्रबार सुपर-४ अन्तर्गत बंगलादेशको सामना गर्ने छ ।