काठमाडौं := नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन्। मतगणना सकिएपछि आइतबार राति शर्मा अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा गरिएको हो। साथै शर्मा नेपाल पत्रकार महासंघमा पहिलो महिला अध्यक्ष हुन्।
शर्मा कांग्रेस र एमालेनिकट प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनको साझा उम्मेदवार हुन्। अध्यक्ष पदका लागि युनियनकै रमेश विष्टले वागी उम्मेदवारी दिएका थिए। उनलाई नेकपा (माओवादी केन्द्र)निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले समर्थन गरेका थिए।
अध्यक्षकै लागि शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामाले पनि उम्मेदवारी दिएका थिए। आइतबार राति सार्वजनिक भएको मतपरिणामअनुसार अध्यक्षमा निर्वाचित निर्मला शर्माले ४ हजार २८२ मत प्राप्त गरी विजयी भइन्। विष्टले ३ हजार २०३, सापकोटाले २७० र लामाले ९६ मत ल्याए।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार २३० मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार ८८६ मत प्राप्त गरे। उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा गंगा पौडेल बरालले दुई हजार ६४४ मत प्राप्त गरिन्।
उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले चार हजार २९२ मत प्राप्त गरी विजयी भए। निकटतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले दुई हजार ८० मत पाए । महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले एक हजार ९२९ मत प्राप्त गरे।
सचिव खुलामा रमेश खतिवडाले तीन हजार ४०० मत प्राप्त गरी विजयी भए। सचिव महिलामा सोनी शर्माले चार हजार ३४७ मत प्राप्त गरिन्। त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासन “थारु”ले तीन हजार ५३५, सचिव मधेशीमा अशोककुमार तिवारीले तीन हजार ८५८ मत प्राप्त गरी विजयी भए।
सचिव दलिततर्फ प्रकाश धौलाकोटीले चार हजार ११०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले तीन हजार ६४५ मत प्राप्त गरी जित हासिल गरे। कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले तीन हजार ८४७ मत प्राप्त गरी विजयी भए।




















